
द्रव्यशाह र गोरखा क्याम्पसका ५० छात्रछात्राहरुलाई नगरस्तरीय छात्रवृत्ति
गोरखा नगरपालिकाले जिल्ला सदरमुकामको द्रव्यशाह बहुमुखी क्याम्पस र गोरखा क्याम्पसमा अध्ययनरत ५० जना छात्रछात्राहरुलाई नगरस्तरीय छात्रवृत्ति प्रदान गरेको छ । सोमबार एक कार्यक्रमका बीच पालिकाले उनीहरुलाई सामुहिक रुपमा छात्रवृत्ति हस्तान्तरण गरेको थियो ।
पालिकाले ‘सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययनरत छात्रछात्राहरुलाई नगरस्तरीय छात्रवृत्ति कार्यक्रम’ लागु गरेको थियो । सोही कार्यक्रमअन्तरगतको छात्रवृत्ति रकम विद्यार्थीहरुलाई वितरण गरेको जनाएको छ । द्रव्यशाह बहुमुखी क्याम्पसका २५ र गोरखा क्याम्पसका २५ गरी ५० जना छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले बताइन् ।
गोरखा नगरपालिका घर भएका र उक्त क्याम्पसहरुमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई प्रतिविद्यार्थी रु १० हजारका दरले छात्रवृत्ति वितरण गरेको उनले जानकारी दिए । नगरपालिकाका भित्रका जेहेन्दार, आर्थिक रुपमा विपन्न विद्यार्थीहरुलाई लक्षित गरेर कार्यक्रम संचालन गरेको उपप्रमुख थोकरको भनाई छ ।
‘शिक्षामा सबैको समान पहुँच सुनिश्चित गर्दै आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ छात्रवृत्ति प्रदान गरेका हौँ’, उनले भनिन् ।यस्तै, नगरपालिकाले पालिकाभित्रका ५ श्रमिकहरुलाई सम्मान समेत गरेको छ। लामो समयदेखि विभिन्न पेशामा आवद्ध रहेका दलित तथा विपन्न श्रमिकहरुलाई प्रोत्साहन स्वरुप नगद ४५ सय रुपैयाँ प्रदान गरी सम्मान गरेको पालिकाको भनाइ छ ।
सम्मानित हुनेमा गोरखा नगरपालिका १२ का पदमबहादुर विश्वकर्मा र निलबहादुर परियार रहेका छन् । विश्वकर्मा आरनको काम गर्दै आएका छन् भने परियार सिलाई पेशामा आवद्ध छन् । यसैगरी, सारङ्गी बनाउने तथा बजाउने पेशामा रहेका गोनपा ५ का पदम गान्धारी, सिलाई पेशामा आवद्ध रहेका गोनपा ८ की कमला परियार र आरन गर्ने गोनपा ८ कै खड्कबहादुर विश्वकर्मा सम्मानित भएको नगरपालिकाको रोजगार संयोजक बद्री बर्तौलाले बताए ।




