| मङ्लबार, असार २२, २०८३

गोरखा पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा

गोरखालाई सोमबार पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्रका १६ देखि २३ महिनासम्मका बालबालिकाहरुले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित भएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका वडाहरु हुदै सबै पालिकालाई पूर्णखोप दीगोपना तथा सुनिश्चितता घोषणा गरेपश्चात जिल्लालाई घोषणा गरिएको कार्यालय प्रमुख सिमृन काफ्लेले बताइन् । उनका अनुसार गत फागुन, चैत र बैशाखमा जिल्लाको प्रत्येक वडामा १६ देखि २३ महिनासम्मका बालबालिकाहरुले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पूरा पाए÷नपाएको र १५ महिनाभित्रका बालबालिकाहरुले नियमित खोप सेवा लिए÷नलिएको भनेर घरदैलो सर्वोक्षण गरेको थियो ।
उक्त सर्वेक्षणमार्फत जिल्लामा १६ देखि २३ महिनाका एकहजार ७७५ बालबालिकाहरु र १५ महिनामुनिका दुईहजार ७६४ बालबालिका रहेको र उनीहरु सबैले पूर्ण र नियमित खोप लगाएको पाइएको काफ्लेको भनाई छ ।
सर्वेक्षणको क्रममा यो वर्ष जिल्लाभर सबै खोपबाट बञ्चित भएको बालबालिका नभेटिएको र ६ जना बालबालिकाहरुले आंशिक मात्र खोप लगाएको पाइएको थियो । उनीहरु सबैको पहिचान गरी लगाउनुपर्ने सबै खोपहरु लगाइएको जिल्ला खोप समन्वय समितिले जनाएको छ ।
सरकारले प्रत्येक वर्षको माघदेखि चैत्र महिनासम्मलाई घरधुरी सर्वेक्षण गर्ने, वैशाख महिनालाई खोप महिना मनाउने र पूर्ण खोप घोषणा तथा दीगोपनाको कार्यक्रम संचालन गर्ने जिल्लाको खोप फोकल पर्सन एवं जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताए ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिसस उपप्रमुख लिला परियार, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाकी प्रमुख सिमृन काफ्ले, स्वास्थ्यकर्मीहरु, लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्