| मङ्लबार, असार २२, २०८३

लिची, धान र काँक्रो खेतीमा करोडौंको क्षति, राहतको अहिलेसम्म अत्तोपत्तो छैन

जिल्लाको पाँच हजार रोपनीमा लगाइएको चैतेधान पूर्ण रुपमा नष्ट भएपछि खाद्य सुरक्षामा जोखिम आउन सक्ने कृषि विकास कार्यालयको भनाइ छ । गोरखा र पालुङटार नगरपालिका, सहिदलखन र भीमसेनथापा गाउँपालिकाका फाँटहरुमा साविक उत्पादन हुँदै आएको ११ सय ३० मेट्रिकटन धान यसबर्ष उत्पादन हुन नसकेको कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत विवेक पौडेलले जानकारी दिए ।

गण्डकी प्रदेशको कृषि मन्त्रालयले पाइलट प्रोजेक्टका रुपमा सञ्चालन गरेको चैते धानमा मरुवा रोगका कारण बाला लाग्न नसकेको हो । ‘किसानको करिब तीन करोड ७५ लाख रुपैयाँ बराबरको धान नष्ट भएको छ’, पौडेलले भने, ‘अरु पालिकामा पनि छ तर विशेषगरी गोरखा नगरपालिका र पालुङ्टार नगरपालिकामा धेरै क्षति भएको छ ।’

उनका अनुसार यो समस्या बर्खेधानमा पनि देखिन सक्ने प्रबल सम्भावना छ । ‘बिउ र ब्याडमै मरुवा रोग देखिसक्यो त्यसैले अब धानमा पनि देखिने धेरै सम्भावना हुन्छ’, उनी भन्छन्, ‘यसले गर्दा गोरखामा खाद्य सुरक्षामा नै संकट देखिन सक्ने सम्भावना देखिन्छ ।’

असिनापानी र हावाहुरीले फूल झारेपछि पालुङटार नगरपालिकाका १९२ किसानले लगाएका सबै लिचीका बोटले यसबर्ष फल दिन सकेनन् । उनीहरुमध्य ३० प्रतिशत किसानका लिचीको बोट नै नष्ट भएका नगरपालिकाका कृषि शाखा प्रमुख संकल्प न्यौपानेले बताए ।

सबै गरेर पालुङटारका लिची किसानहरुले सात करोड भन्दा धेरै क्षति व्यहोर्नु परेको न्यौपानेको भनाइ छ । पालिकाको वडा नं ६, ७ र ८ मा व्यवसायिक रुपमा लिची उत्पादन हुने गरेको छ । यस्तै, वडा नं ४ र ५ मा पनि लिची खेती बिस्तार गरिएको पालिकाले जनाएको छ । गतवर्ष पालुङटारका किसानहरुले १५० हेक्टर क्षेत्रफलमा एक हजार ७१६ मेट्रिक टन लिची उत्पादन गरेका थिए ।

यसबर्ष ९० प्रतिशत उत्पादन घटेको कृषि शाखा प्रमुख न्यौपानेको भनाइ छ । उनका अनुसार पालिकाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ६ सय किसान लिची खेतीमा आवद्ध छन् । यस्तै, करिब नौसय रोपनी क्षेत्रफलमा लिची खेती संचालन गरिएको छ ।

यसबर्षको हावाहुरी र असिना पानीले गण्डकी गाउँपालिकाको काँक्रो तथा बेमौसमी तरकारी बाली पनि नष्ट पारेको छ । कृषि शाखा प्रमुख सपना थारुका अनुसार यसबर्ष यहाँका किसानका पाँचलाख २१ हजार २६४ किलोग्राम लहरे प्रजातिका तरकारी हावाहुरी र असिना पानीले नष्ट पारेको छ । ९४ लाख ५९ हजार रुपैयाँ बराबरको काँक्रो तथा लौका, फर्सी, करेला लगायतका तरकारी नष्ट पारेको हो ।

क्षतिग्रस्त अन्नबाली, तरकारी बाली तथा फलफूल बालीको राहतबारे अहिलेसम्म अन्यौल नै छ । कृषि विकास कार्यालयमा राहतका लागि जम्मा २० लाख रुपैयाँ मात्र रहेको सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिए । करोडौंको कृषि उपज क्षति भएकोमा यो राहत रकम अपुग रहेको कार्यालयको भनाइ छ । अत्यन्त न्यून रकम भएकाले राहत वितरण गर्न पनि नसकिएको भट्टराईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्