
तिव्वती नागरिकलाई गोरखाबाट नागरिकता दिएकोबारे सदनमा चर्चा
तिव्वती नागरिकलाई जिल्ला प्रशासन कार्यालय गोरखाबाट नागरिकता दिएको विषयमा सदनमा चर्चा चलेको छ । झुठो विवरण पेश गरी तिव्वती नागरिकले नेपाली नागरिकता लिएको विषयमा बोल्दै राष्ट्रिय सभाकी सांसद सम्झना देवकोटाले छानविन गर्न माग गरेकी हुन् ।
’गोरखाको साविक प्रोक गाविस ८ हालको चुमनुब्री गाउँपालिका–४ नाम्रुङबाट तिव्वती नागरिक लोरसाङ तेञ्जिन लामाले स्थानीय तेम्वा छिरिङ लामाको छोरा हुँ भनी झुठो विवरण पेश गरी जिल्ला प्रशासन कार्याल गोरखाबाट २०५८ चैत १४ गते नागरिकता लिएको जानकारी आएको छ ।
८८२३१ नम्बरको त्यही नागरिकता प्रयोग गरी राहदानी बनाई विदेश जाने आउने गरेको पनि पाइएको छ’, गृहमन्त्री समेत सहभागी भएको सो सदनको शून्य समयमा बोल्दै सांसद देवकोटाले भनिन्, ‘यस विषयमा अनुसन्धान र छानविन गरी आवश्यक कारबाही गर्न म जोडदार माग गर्दछु । साथै सोही गाउँको नाम्ला लगायतका गुम्बाबाट बहुमूल्य वुद्धमूर्ति, माला तथा गहनाहरु चोरी तिव्वत पु¥याइएको छ । त्यो पनि तत्काल फिर्ता गरी साविक गुम्बाहरुमै राख्न माग गर्दछु ।’ राष्ट्रिय सभामा उपस्थित भएका गृहमन्त्री सुदन गुरुङले घटनाको सत्यतथ्य छानविन गर्न लगाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यसअघि चुमनुब्री ४ का बासिन्दाले झुठा विवरण पेश गरी तिव्वती नागरिकले नेपाली नागरिकता लिएको र सोही ठाउँमा रहेका तीन ठूला गुम्बाहरुबाट महत्वपूर्ण वुद्धमूर्ति, माला तथा बहुमूल्य धातु तथा गरगहना चोरी भएको भन्दै उजुरी दिएका थिए । सो उजुरीमा चोर्ने सम्भावित व्यक्तिको नाम समेत खुलाई उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न अनुरोध गरेका थिए ।




