| सोमवार, असार २१, २०८३

सदरमुकाममा फुटपाथ निर्माणको कामले तिव्रता पाउँदै

जिल्ला सदरमुकामस्थित गोरखा बसपार्कदेखि खोलखोलेसम्म फुटपाथ निर्माणको कामले तिव्रता पाएको छ । यसअघि बसपार्क क्षेत्रमा फुटपाथ निर्माण सम्पन्न भैसकेकोमा हाल खोलखोलेदेखि हरमटारी खण्डको काम सुरु भएको हो ।

खोलखोलेदेखि हरमटारी क्षेत्रमा संरचनाहरु हटाउने कामसँगै रिटेनिङ् वाल (पर्खाल) निर्माणको काम सुरु भएको गोरखा नगरपालिकाले जनाएको छ । सदरमुकामको खोलखोलेदेखि बसपार्कसम्म सडकको दुवैतर्फ फुटपाथ निर्माणको कामलाई बहुवर्षीय योजनाको रुपमा अघि सारेर धमाधम काम भैरहेको नगरपालिका इन्जिनियर प्रकाश ढकालले बताए ।

जसअन्तरगत आगामि आर्थिक वर्ष खोलखोलेदेखि हरमटारीसम्मको ९०० मिटर सडकमा दायाँ र बाँया फुटपाथ निर्माणसहित सडक स्तरोन्नति गरिने उनले जानकारी दिए । खोलखोलेदेखि बसपार्कसम्म सडकको दुवैतर्फ फुटपाथ निर्माणका काम गत आर्थिक वर्ष २०८१/०८२ बाट सुरु भएको थियो । गोरखा नगरपालिकाले बहुवर्षीय योजनाका रुपमा यसलाई अगाडि बढाएको छ ।

योजनाअन्तरगत गत आव बसपार्कदेखि शक्तिचोकसम्मको २२० मिटर सडकमा फुटपाथ निर्माणसहित सडक स्तरोन्नतिको काम सम्पन्न भैसकेको इन्जिनियर ढकालले बताएका छन् । उनका अनुसार गतवर्ष फुटपाथ निर्माणका लागि गोरखा सडक योजनाले एक करोड ७१ लाख र गोरखा नगरपालिकाले एक करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

नगरपालिका र गोरखा सडक योजनाले सडकको दायाँ र बायाँ कार्य विभाजन गरेर योजना संचालन गरेको थियो । आगामि वर्ष देखिको काम भने गोरखा नगरपालिकाले मात्र संचालन गर्ने उनको भनाइ छ ।

खोलखोलेदेखि हरमटारीसम्म दुवैतर्फ फुटपाथ निर्माणको काम सम्पन्न भएसँगै हरमटारीदेखि बिसौनीमोड खण्डको काम सुरु गर्ने गोरखा नगरपालिकाले जनाएको छ । खोलखोलेदेखि बसपार्कसम्म फुटपाथ निर्माणका लागि नगरपालिकाले करिब आठ करोड बजेट बिनियोजन गरेर काम अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्