| शुक्रबार, असार १८, २०८३

सहकारी संस्था र एनपिआई हस्पिटल गोरखाबीच स्वास्थ्य सम्झौँता

गोरखा सदरमुकामको दुई सहकारी संस्था तथा एनपिआई गोरखा हस्पिटलबीच स्वास्थ्य सम्झौँता भएको छ । बुधबार गोरखा नगरपालिका–९ को गोरखकाली बचत तथा ऋण सहकारी संस्था र गोरखा नगरपालिका–७ को हिमचुली बचत तथा ऋण सहकारी संस्थाबीच स्वास्थ्य सेवा तथा सहकार्यका लागी सम्झौँता भएको हो ।

सम्झौँता अनुसार दुवै सहकारीका पाँचहजार बढी बचतकर्ता तथा सदस्यहरुले एनपिआई गोरखा हस्पिटलबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवामा विषेश छुट पाउने छन् । सहकारी सदस्यहरूलाई गुणस्तरीय, सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एनपिआई गोरखा हस्पिटलसँग स्वास्थ्य सम्झौँता गरेको सहकारीहरुले जनाएको छ । अस्पताल र सहकारी संस्थाबीचको सहकार्यले समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुने तथा सदस्यहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पर्ने एनपिआई गोरखा हस्पिटलका संचालक एवं मेडिकल डाईरेक्टर संगमबाबु श्रेष्ठले बताए ।

उक्त संस्थाहरुले आयोजना गरेको स्वास्थ्य शिविर र सचेतना कार्यक्रमहरुमा अस्पतालले प्राविधिक सहयोग गर्ने सम्झौता समेत भएको उनले जानकारी दिए । एनपिआई गोरखा हस्पिटलको तर्फबाट श्रेष्ठ, गोरखाकाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट अध्यक्ष सुजन कुँवर तथा हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रतिनिधि सुमन ज्ञवाली बीच स्वास्थ्य सम्झौँता भएको हो ।

प्रतिक्रिया दिनुहोस्