
बाह्य मिचाह प्रजातिले हिमाली रैथाने घाँस संकटमा
बाह्य मिचाह प्रजातिले हिमाली रैथाने घाँस संकटमा परेको छ । जसको असर पशुपालन र कृषि क्षेत्रमा देखिन थालेको मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का सूचना अधिकारी भुवनराज ओझाले बताए ।
उनका अनुसार आजभोली मनासलु क्षेत्रमा पहाड तथा तराईमा पाइने मिचाह प्रजातीका घाँस देखिन थालेका छन् । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा मिचाह प्रजातिका वनस्पति देखिएको उनले जानकारी दिए । जसका प्रत्यक्ष असर त्यस क्षेत्रको कृषि तथा पशुपालनमा देखिएको छ । ‘बाह्य मिचाह प्रजातिका घाँसले मनासलु क्षेत्रको रैथाने घाँस हुन नदिने देखिन्छ । जसले गर्दा पशुपालनका लागि आवश्यक घाँसको अभाव हुन जान्छ’, ओझाले भने, ‘मिचाह प्रजातिले खेतीवालीमा पनि समस्या देखिएको र वालीको उत्पादन नै घटाएको अवस्था छ ।’ उक्त क्षेत्रमा वनमारा, कुरो लगायत मिचाह प्रजातिको घाँस देखिन थालेको उनले जानए ।
जलवायु परिवर्तनका कारण आजभोलि पहिले जस्तो घाँस पाउन छोडेको भेडा गोठालाहरु बताउँछन् । नयाँ विषालु झारहरु उम्रन थालेको उनीहरुको गुनासो छ । त्यस्तो घाँस खाएर पनि भेडा मरेका चुमनुब्री गाउँपालिका ३ पाङसिङका रोहन गुरुङले बताएका छन् । राम्रो घाँस खोज्दै गोठालाहरु टाढा, टाढा पुग्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ । माथिल्लो लेक, खर्क र पाटनहरुमा घाँस पलाउन पनि छाडेको उनको भनाई छ ।
एमक्यापले हालै गण्डकी जलाधार जलवायु उत्थानसील आयोजनाको सहयोगमा मिचाह वनस्पति व्यवस्थापन सम्बन्धी कार्यक्रम संचालन गरेको छ । चुमनुब्री गाउँपालिका ३ पाङसिङका वन व्यवस्थापन उपसमिति तथा आमा समूहका सदस्यहरूलाई सचेतना जगाउने उद्देश्यले कार्यक्रम संचालन गरेको एमक्यापका सूचना अधिकारी भुवनराज ओझा बताउँछन् । कार्यक्रममा मिचाहा वनस्पति उचित समय र सही तरिकाले उखेल्ने प्रविधि सम्बन्धी व्यवहारिक तालिम समेत प्रदान गरेको उनले जानकारी दिए ।
कार्यक्रममार्फत स्थानीयलाई मिचाहा वनस्पतिका कारण वन, चरन क्षेत्र तथा स्थानीय जैविक विविधतामा पर्ने नकारात्मक प्रभावबारे जानकारी दिइनुका साथै, तिनको प्रभावकारी नियन्त्रणका लागि आवश्यक व्यावहारिक सीप र प्रविधि सिकाएको एमक्यापले जनाएको छ ।




