| बुधबार, असार १६, २०८३

तिब्बती नागरिकले गोरखाबाट नागरिकता बनाएको भन्दै कारबाहीको माग

तिब्बती नागरिकले झुठा विवरण पेश गरी गोरखाबाट नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखामा उजुरी परेको छ । लोरसाङ तेञ्जिङ लामाले साविक प्रोक गाविस वडा नं. ८ को स्थायी बासिन्दा हुँ भनी झुठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट नागरिकता लिएकाले छानबिन गरी कारबाही गर्न माग गर्दै उजुरी परेको हो ।
निवेदनमा लोरसाङ तेञ्जिङ तिब्बती नागरिक भएको दावी गरिएको छ ।

लोरसाङले २०५८ चैत १४ मा जिल्ला प्रशासन कार्यालय गोरखाबाट लिएको ८८२३१ नम्बरको नागरिकतामा बुबाको नाम लेख्ने महलमा तम्बा छिरिङ लामा लेखिएको छ । तम्बा छिरिङ लामाको एक मात्र श्रीमती र एक मात्र छोरा कर्मा छेवाङ लामा रहेको दावी गरिएको छ । साथै कर्मा छेवाङको समेत मृत्यू भइसकेको निवेदनमा उल्लेख छ ।

चुमनुब्री ४ स्थित नाम्ला गुम्बाका प्रमुख लामासमेत रहेका लोरसाङ तेञ्जिङले सोही नागरिकताका आधारमा नेपाली राहदानी बनाई विभिन्न देश आवतजावत गरिरहेको उजुरीमा दावी गरिएको छ । सो झुठा विवरण पेश गरी नागरिकता बनाउन चुमनुब्री गाउँपालिका ४ नाम्रुङका धावा दोर्जे लामाले सहजिकरण गरेको उजुरीमा किटान गरिएको छ ।

साथै सोही उजुरीमा धावा दोर्जे लामाले पनि नेपाली र तिब्बती नागरिकता लिएको उल्लेख गरिएको छ । उनको तिब्बती नागरिकता नागार्जुन नगरपालिका ३ स्थित तिब्बती शरणार्थी शिविरको कार्यालयमा राखिएको भन्दै आवश्यक छानबिन गर्न माग गरिएको छ ।

सो बेनामे उजुरीमा लोरसाङ तेञ्जिङको नेपाली नागरिकताको प्रतिलिपिसहित अन्य विभिन्न कागजातसमेत समावेश गरिएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले उजुरी प्राप्त भएको भन्दै यसबारे अध्ययन र अनुसन्धान गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्