| बुधबार, असार १६, २०८३

राजनीतिसंगै व्यवसाय आत्मनिर्भरता र इमानदारिताको आधार

नेपाली राजनीति र समाजसेवामा लागेका व्यक्तिहरूका लागि आर्थिक सुशासन र नैतिक आचरण सधैँ एउटा ठूलो चुनौती बन्दै आएको छ । निर्वाचन जितेर कुर्सीमा पुगेपछि वा सामाजिक नेतृत्व हातमा लिएपछि दैनिक जीवनयापन, घरखर्च र व्यक्तिगत आवश्यकताहरू पूरा गर्न पारदर्शी आम्दानीको स्रोत नहुँदा कतिपय जनप्रतिनिधिहरू नीतिगत भ्रष्टाचार वा अस्वस्थ आर्थिक चलखेलको दलदलमा फस्ने गरेका उदाहरण प्रशस्त छन् ।

यस्तो धमिलो परिवेशमा गोरखाको धार्चे गाउँपालिकाका प्रमुख लक्ष्मण गुरुङले प्रस्तुत गरेको उदाहरण सिंगो राजनीतिक क्षेत्रकै लागि एउटा नवीन र अनुकरणीय पाठ बनेको छ । उनले धार्चे–३, खोर्लावेशीमा होटल व्यवसायका साथै गोरखा जिल्लामै पहिलो पटक व्यावसायिक रूपमा रेन्बो ट्राउट माछा पालन गरेर पालिका प्रमुख गुरुङले राजनीति, समाजसेवा र उत्पादनमूलक श्रमलाई एकसाथ अघि बढाउन सकिन्छ भन्ने प्रमाणित गरिदिएका छन् ।

पदमा बसेर सेवा मात्र गर्ने तर आफ्ना लागि आम्दानीको स्वस्थ बाटो नखोज्ने हो भने, ढिलो–चाँडो पकेट खर्च र घरखर्च टार्ने बहानामा लोभ–लालच र अस्वस्थ कमाइतर्फ मन आकर्षित हुन सक्छ । जनप्रतिनिधि आफैँ आत्मनिर्भर र आर्थिक रूपमा सबल नहुँदा सार्वजनिक स्रोत–साधनमाथि आँखा लगाउने प्रवृत्ति मौलाउँछ ।

जबसम्म नेतृत्वकर्ताको आफ्नै व्यवसाय वा श्रमबाट मनग्य र पारदर्शी आम्दानी हुँदैन, तबसम्म लोभ र प्रलोभनबाट मुक्त रहन कठिन हुन्छ । व्यवसायबाट हुने आर्जनले व्यक्तिको आत्मसम्मान बढाउँछ र उसलाई कुनै पनि अनैतिक सम्झौता गर्नबाट जोगाउँछ । धार्चेका प्रमुख गुरुङले झैँ हरेक तहका नेता र जनप्रतिनिधिहरूले उत्पादन, कृषि, पर्यटन वा उद्यमशीलताको कुनै न कुनै स्वस्थ बाटो रोज्नु बेस हुन्छ ।

आत्मनिर्भरता नै राजनीतिक इमानदारिताको पहिलो सर्त हो भन्ने बुझेर सबै जनप्रतिनिधि र समाजसेवीहरूले आयआर्जनको स्वस्थ र स्वावलम्बी बाटो अपनाउनु नै आजको आवश्यकता र बुद्धिमानी हो ।

प्रतिक्रिया दिनुहोस्