
गोरखाली आरोहीको नेतृत्वमा गोरखाको नयाँ हिमाल पहिलो पटक आरोहण
नेपाली र अमेरिकी पर्वतारोहीहरूको टोलीले गोरखा जिल्लामा रहेको, यसअघि आरोहण नभएको नयाँ हिमालको आरोहण गरिएको छ । चुमनुब्री र धार्चे गाउँपालिकाको सीमा आसपास, गणेश हिमालकै श्रृङ्खलामा पर्ने ६,२५० मिटर अग्लो लुम्बो हिमालको पहिलो पटक सफल आरोहण गरिएको अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक तुलसी गुरुङले जानकारी दिए ।
यससँगै उनीहरूले देशकै सबैभन्दा कम अन्वेषण गरिएको हिमाली क्षेत्रमा नयाँ शिखरको बाटो खोलेका हुन् । हिमालय समिट क्लबद्वारा आयोजित उक्त टोलीका चार पर्वतारोहीहरूले धेरै दिनको अन्वेषण र प्राविधिक आरोहणपछि हिमालको दक्षिण–पश्चिम मोहडाबाट बाटो बनाउँदै असार ८ गते (जुन २२) शिखरमा पुग्न सफल भएका हुन् ।

आरोहण टोलीमा अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक लाप्राकका तुलसिंह गुरुङ, लाप्राककै सुजल गुरुङ र लाप्राककै आशबहादुर गुरुङका साथै अमेरिकी पर्वतारोही एरिक म्याथ्यु सु रहेका थिए । अभियान आयोजकका अनुसार, मनास्लु संरक्षण क्षेत्रको उत्तरी छेउ र गणेश हिमाल शृङ्खलाको दक्षिणमा पर्ने धार्चे गाउँपालिकामा अवस्थित लुम्बो हिमालको यो पहिलो प्रमाणित आरोहण हो ।

लुम्बो हिमाल कुनै बस्ती, चिया पसल (टि–हाउस) वा स्थापित पदयात्रा मार्गहरू नभएको एक दुर्गम उपत्यकामा अवस्थित छ । टोलीले ४,१५० मिटरमा आधार शिविर (बेस क्याम्प) र ५,०४९ मिटरमा उच्च शिविर (हाई क्याम्प) स्थापना गर्नुअघि मनास्लु पदमार्गबाट चार दिनको पैदल बाटो हिड्दै सो अभियानको यात्रा तय गरेका बिसबहादु गुरुङले जानकारी दिएक ।

पथप्रदर्शक तुलसिंह गुरुङका अनुसार टोलीले हिउँ, चट्टान र बरफको अवस्थाको मूल्याङ्कन गरेपछि दक्षिण–पश्चिम मोहडाबाट आरोहण गर्ने निर्णय गरेको थियो । २० घण्टा लगाएर आरोहण गरेको आरोहीमध्यका एक सुजल गुरुङले जानकारी दिए ।
अन्तर्राष्ट्रिय माउन्टेन गाइड एशोसिएशन्सबाट मान्यता प्राप्त नेपाली गाइडहरूको प्रतिनिधित्व गर्ने राष्ट्रिय नेपाल माउन्टेन गाइड एशोसिएशन्सका अध्यक्ष समेत रहेका तुलसी गुरुङले हिमालयन पर्वतारोहणको बढ्दो व्यावसायीकरणका बाबजुद पनि यस्ता अन्वेषणात्मक आरोहणहरू महत्वपूर्ण रहेको बताए ।

अधिकांश हिमाली चुचुराहरू पहिल्यै आरोहण भइसकेको वर्तमान समयमा यो आरोहणले अन्वेषणको वास्तविक भावनालाई प्रतिनिधित्व गर्ने बताए । आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्नुअघि ६ हजार मिटर अग्लो हिमाल आरोहणको अनुभव अनिवार्य व्यवस्था गरिएको छ । त्यसैले मनास्लु आरोहण गर्नुअघि धेरैजनाले यो हिमाल आरोहण गर्न सक्ने सम्भावना धेरै रहेको पर्यटन व्यवसायी बताउँछन् ।




