| मङ्लबार, असार १५, २०८३

जिल्लाभर ४३ हजार बिरुवा वितरण गर्दै वन कार्यालय

डिभिजन वन कार्यालय गोरखाले जिल्लाभर करिब ४३ हजार बिरुवा निशुल्क रुपमा वितरण गर्ने तयारी गरेको छ । विभिन्न काष्ठजन्य, फलफुलजन्य, डालेघाँस, सौन्दर्यमूलक, जडिबुटीजन्य तथा साँस्कृतिजन्य बिरुवाहरु निशुल्क रुपमा वितरण गर्न लागेको कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले बताए ।

गत आर्थिक वर्ष २०८१/०८२ मा उत्पादित बहुवर्षीय बिरुवा तथा चालु आव २०८२/०८३ मा उत्पादित नयाँ बिरुवाहरु वितरण गर्न लागेको उनले जानकारी दिए । ‘चालु आर्थिक वर्ष मात्र करिब २६ हजार बिरुवाहरु उत्पादन भएका छन्’, उनले भने । उनका अनुसार पालुङटार सव–डिभिजन नर्सरी, ठाँटीपोखरी, गोरखा नगरपालिका १३ स्थित डिभिजन वन नर्सरी, तीनकिलो तथा गण्डकी सव–डिभिजन नर्सरी, सिउरेनीटारबाट निशुल्क रुपमा बिरुवाहरु वितरण हुन लागेको हो ।

काष्ठजन्य बिरुवाअन्तरगत खयर, सिसौ, बकाइनो, सल्लो, चाँप, फलफुलजन्य अन्तरगत अम्बा, अमला, लप्सि, ओखर र अमिलो, डालेघाँस बिरुवाअन्तरगत राईखन्यू, निमारो, टाँकी, किम्बु, बडहर र ईपिलिईपिल, शौन्दर्यमूलक अन्तरगत धुपी, पारिजात, गोलमोहर, बिरेन्द्रफुल, कल्किफूल, असारे, अशोक र कपूर, जडिबुटीजन्य बिरुवाअन्तरगत टिमुर, निम, सितलचिनी, चिउरी, श्रीखण्ड, लौठसल्ला तथा साँस्कृतिजन्य बिरुवाअन्तरगत वर, पिपल, समी र वेलको बिरुवा वितरण हुने कार्यालय प्रमुखले बताएका छन् । यही असार २० गतेबाट निशुल्क रुपमा बिरुवा वितरण कार्यक्रम सुरु हुने उनले जनाए ।

‘बिरुवा लिनका लागी आवश्यक कागजातसहित आफूलाई पायक गर्ने वितरण स्थलमा सम्पर्क गर्न सकिन्छ’, उनले भने ।
कार्यालयले आइतबार ‘राष्ट्रिय बृक्षारोपण दिवस–२०८३’ पनि मनाएको छ । सरकारको सगरमाथा बृक्षारोपण महाअभियानअन्तरगत बृक्षारोपण गरेर कार्यालयले दिवसको सुरुवात गरेको हो । गोरखा नगरपालिका वडा नं ९ टक्सारको कुवाडी सामुदायिक वनमा बृक्षारोपण गरेर दिवसको सुरुवात गरेको डिएफओ शाण्ल्यिको भनाई छ ।

वनको खाली क्षेत्रमा अमला, लप्सी, अम्बा लगायत फलफुलजन्य बिरुवा बृक्षारोपण गरेको सामुदायिक वनका अध्यक्ष सूर्यबहादुर गुरुङले बताए । मानव वन्यजन्तु द्धन्द्ध न्यूनीकरण गर्ने उद्देश्यसहित फलफुलजन्य बिरुवा रोपेको उनले जानकारी दिए ।
डिभिजन वन कार्यालयले गोरखा नगरपालिकाको आर्थिक सहयोगमा थप १४ हजार बिरुवाहरु उत्पादन गरेको छ । नगरपालिकाको दुईला सहयोगमा उक्त बिरुवाहरु उत्पादन गरेको हो । गोरखा नगरबासीको आवश्यकता अनुसार विभिन्न बिरुवाहरु उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले बिरुवा उत्पादन कार्यक्रम संचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्