
गोनपा–२ मा रक्तचाप मापन गर्ने डिजिटल मेसिन वितरण
गोरखा नगरपालिका वडा नम्वर २ मा रक्तचाप मापन गर्ने डिजिटल मेसिन वितरण गरिएको छ । रक्तचापका बिरामीलाई मध्यनजर गर्दै वडा कार्यालयले उक्त मेसिन वितरण गरेको हो ।
घर छिमेकमै रक्तचाप मापन गर्न सकिने गरी समूह बनाएर मेसिन वितरण गरिएको वडाध्यक्ष रहमतुल्ला मियाले बताए । ‘घरधुरीको आधारमा प्रत्येक टोलमा ५ देखि ८ वटा समूह बनाएका छौ,’ उनले भने, ‘सोही समूहलाई मेसिन वितरण गरेका हौ ।’ चालु आर्थिक बर्षको लक्षित वर्ग प्रोत्साहन कार्यक्रम अन्तरगत कुल ९३ वटा मेसिन वितरण गरिएको उनले जानकारी दिए । मेसिन प्रयोग गर्ने तरिकाबारे समेत अभिमुखीकरण गराइएको उनको भनाइ छ ।
‘रक्तचापका बिरामी र रक्तचापले भविष्यमा निम्त्याउन सक्ने घातक रोगहरुलाई मध्यनजर गर्दै यो मेसिन वितरण गरेका हौ,’ उनले भने । समयमै रक्तचाप मापन गरेर भविष्यमा निम्तिन सक्ने घातक रोगबाट बचाउन यसले केही हदसम्म मद्दत गर्ने उनको अपेक्षा छ ।




