
लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस गोरखामा पनि मनाइएको छ । दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयदेखि ठूलोआँगनसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रभातफेरीमा सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा नागरिक समाजको सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन समारोहमा प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठ तथा नागरिक समाजका अगुवा तथा अधिवक्ता स्थानेश्वर दुवाडीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । लागुऔषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइएको छ ।
लागुऔषध दुरुपयोगमुक्त अन्तर्राष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ ।
संयुक्त राष्ट्रसंघको महासभाले ७ डिसेम्बर १०८७ मा एक प्रस्ताव पारित गरी हरेक वर्ष जुन २६ मा यो दिवस मनाउन प्रारम्भ भएको हो ।
पछिल्लो समय विश्वभर लागुऔषधको प्रयोग र बजारमा उपलब्ध लागुऔषधको संख्या निरन्तर बढिरहेको छ ।
यो दिवसले लागुऔषधको बेफाइदा, लागुऔषध प्रयोग तथा कारोबार गरेमा पाइने दण्ड सजायँको बारेमा सुसूचित गराउने विश्वास राखिएको छ ।




