
सिरानचोकले ल्यायो अनुमानित ६६ करोड ३१ लाखको बजेट
आगामि आर्थिक वर्ष २०८३/०८४ का लागि सिरानचोक गाउँपालिकाले ६६ करोड ३१ लाख ९३ हजार रुपैँयाको अनुमानित बजेट घोषणा गरेको छ । बुधबार पालिकाले उक्त बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
सिरानचोकले संघीय सरकारको वित्तीय समानिकरण अनुदानबाट १३ करोड ९ लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ । राजस्व बाँडफाँटबाट आठकरोड ७४ लाख ५३ हजार र सशर्त अनुदानतर्फ ३२ करोड ९० लाख प्राप्त गर्ने पालिकाको अनुमान छ । यस्तै, संघको समपुरक अनुदानतर्फबाट एककरोड ७५ लाख र विशेष अनुदानतर्फबाट ८३ लाख रुपैयाँ प्राप्त गर्ने पालिकाले जनाएको छ ।
यसैगरी, प्रदेश सरकारको वित्तीय समानिकरणतर्फ एककरोड ८१ लाख १७ हजार, राजस्व बाँडफाँटतर्फबाट ९ लाख २३ हजार, समपुरक अनुदानतर्फबाट ६० लाख र विशेष अनुदानतर्फबाट ४० लाख रुपैयाँ प्राप्त गर्ने पालिकाको अनुमानित बजेटमा उल्लेख छ । आगामी आर्थिक वर्ष २०८३/०८४ मा आन्तरिक राजश्वबाट दुईकरोड १५ लाख संकलन गर्ने अनुमान गाउँपालिकाले गरेको छ । पालिकाले राजश्वको दायरा फराकिलो पार्दै एकीकृत सम्पत्तिकर, भूमिकर/मालपोतकर, घरवाहलकर, नक्सा पास, ढुङ्गा, गिट्टी, बालुवा लगायतको क्षेत्रबाट आन्तरिक शूल्क बढाउने नीति लिएको छ ।
गाउँपालिकाले कर्मचारीको तलब भत्ता तथा प्रशासनिक खर्चतर्फ ३३ करोड ३५ लाख रुपैँया बिनियोजन गरेको छ । यस्तै, पालिकाले आर्थिक विकास क्षेत्र, सामाजिक क्षेत्र, पूर्वाधार क्षेत्र, वन, वातावरण तथा विपद व्यवस्थापन र संस्थागत विकास तथा सुशासनका लागि एकमुष्ट ११ करोड ६९ लाख रुपैँया निनियोजन गरेको छ ।
वडागत सिलिङ रकमअन्तरगत चारकरोड ५१ लाख, पालिकाको गौरवको आयोजना, प्रशासनिक भवन निर्माण तथा अन्य महत्वपूर्ण योजनाका लागि ६ करोड ८६ लाख रुपैँया बिनियोजन भएको छ । सिरानचोकले सशर्त अनुदान कार्यान्वयनका लागि ३२ करोड ९० लाख, समपूरक अनुदान कार्यान्वयनका लागि चारकरोड ७० लाख र विशेष अनुदान कार्यान्वयनका लागि एककरोड २३ लाख रुपैँया बिनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।




