
शहीदलखनको १९ औं गाउँसभा सम्पन्नः शिक्षण सिकाइमा एआईको प्रयोग गरिने
शहीदलखन गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६३ करोड ४७ लाख ३१ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको बुधबार सम्पन्न १९ औँ गाउँसभा तथा अधिवेशनमा उपाध्यक्ष इन्दिरा तिवारीले प्रस्ताव गरेको उक्त बजेट गाउँसभाले पारित गरेको हो ।
अधिवेशनमा गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले आगामी आव २०८३/०८४ को पालिका नीति तथा कार्यक्रम पेश गरेका हुन् । उक्त नीति तथा कार्यक्रम पनि सर्वसम्मतले पारित भएको पालिकाको प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगरले बताए । कार्यक्रममा पालिका उपाध्यक्ष तिवारीले न्यायिक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको उनले जानकारी दिए ।
यसैगरी, गाउँसभा अन्तर्गत गठित लेखा समिति, सुशासन समिति र विद्यायन समितिका संयोजकहरुले आर्थिक बर्ष २०८२/०८३ को हालसम्मको प्रतिवेदन पेश गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले संघीय सरकारबाट समानीकरण अनुदान १४ करोड ३४ लाख, संघीय ससर्त अनुदान २६ करोेड १६ लाख, विशेष अनुदान १ करोड, समपूरक अनुदान १ करोड ८८ लाख गरि ४३ करोड ३८ लाख प्राप्त गर्ने अनुमान गरेको छ ।
यसैगरि गण्डकी प्रदेश सरकारबाट प्रदेश समानीकरण अनुदान १ करोड ९९ लाख ३६ हजार प्रदेश विशेष अनुदान ३९ लाख ९० हजार, प्रदेश समपुरक अनुदान ५१ लाख ३१ हजार गरि २ करोड ९० लाख ५७ हजार प्राप्त हुने अनुमान गरिएको छ । राजश्व बाडफाँडतर्फ संघीय सरकारबाट ९ करोड ६८ लाख ८९ हजार, प्रदेश सरकारबाट ९९ लाख ८५ हजार २२९ आन्तरिक २१ लाख ५० हजार गरि जम्मा १० करोड ९० लाख २४ हजार २२९ प्राप्त हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको आन्तरिक आय अनुमानित ६ करोड २८ लाख ४९ हजार ७७१ रुपैयाँ हुने गाउँपालिका उपाध्यक्ष तिवारीले जानकारी दिइन् । कुल बजेट मध्ये चालुतर्फ ४९ करोड ५९ लाख ६० हजार र पूँजीगत तर्फ १३ करोड ६६ लाख २१ हजार विनियोजन गरिएको छ । विनियोजित रकम मध्य आर्थिक विकास क्षेत्र, सामाजिक विकास क्षेत्र, पूर्वाधार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र जस्ता विभिन्न शीर्षक बनाएर खर्च गर्ने अनुमान गरेको उनले बताइन् ।
गाउँपािलकाले शिक्षा नीति अन्तरगत शिक्षकहरुलाई शिक्षण सिकाइमा एआईको प्रयोग सम्बन्धमा क्षमता विकास गर्दै कक्षाकोठामा प्रयोगलाई प्रोत्सहित गरिने भएको छ । गाउँपालिका भित्रका कम्तिमा एक सामुदायिक माध्यमिक विद्यालयलाई आवश्यक पूर्वाधार विकास गरी सञ्चालन गर्ने नीति पालिकाले लिएको अध्यक्ष मगरले बताए । साथै गाउँपालिकाले सिमान्तकृत तथा उपेक्षामा रहेका दलित विद्यार्थीहरुलाई मात्र लक्ष्ति गरि एक आवासिय विद्यालय सञ्चालन गर्ने बताएको छ ।
मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक पहल गरिने उनले जानकारी दिए । लखन किल्लामा संग्रहालय तथा स्मारक निर्माण गरी ऐतिहासिक योगदानको संरक्षण गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको अध्यक्ष मगरले बताए । विपन्न, दलित, जनजाती, एकल महिला तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई उद्यमशिलता विकासमा प्रथमिकता दिइने अध्यक्ष थापाको भनाई छ ।
निति कार्यक्रममा गाउँपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने अथियान सञ्चालन गरिने उल्लेख गरिएको छ । गर्भवती तथा सुत्केरी महिलाहरुको निशुल्क स्वास्थ्य बिमा गरिदिने पनि गाउँपालिकाले नीति बनाएको छ । एक वडा एक तरकारी कर्सरी कार्यक्रम सञ्चालन गर्ने नीति गाउँपालिकाले ल्याएको छ । गाउँपालिकाले नीजि वन दर्ता समेत गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।




