
चुमनुब्रीले ल्यायो ४५ करोड ७९ लाखको अनुमानित बजेट
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागी ४५ करोड ७९ लाख १३ हजार रुपैँयाको अनुमानित बजेट घोषणा गरेको छ । मंगलबार पालिकाले उक्त बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
चुमनुब्रीले संघीय सरकारको वित्तीय समानिकरण अनुदानबाट आठ करोड ७७ लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ ।
राजस्व बाँडफाँटबाट १२ करोड ४४ लाख ७९ हजार र सशर्त अनुदानतर्फ १२ करोड ३३ लाख प्राप्त गर्ने पालिकाको अनुमान छ । यसैगरी, प्रदेश सरकारको वित्तीय समानिकरणतर्फ ८८ लाख ५९ हजार, राजस्व बाँडफाँटतर्फबाट एककरोड एकलाख ५१ हजार, समपुरक अनुदानतर्फबाट ६० लाख र विशेष अनुदानतर्फबाट ४० लाख रुपैयाँ प्राप्त गर्ने पालिकाको अनुमानित बजेटमा उल्लेख छ । आगामी आर्थिक वर्ष २०८३/०८४ मा आन्तरिक राजश्वबाट दुईकरोड १३ लाख संकलन हुने गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
गाउँपालिकाले कृषि तथा पशुपंक्षी विकास कार्यक्रमअन्तरगत कृषिकलाई बीउविजन, कृषिऔजार, प्रविधि तथा तालिमका लागि ८ लाख रुपैँया बिनियोजन गरेको छ । प्राकृतिक विपत्तिबाट सिर्जित विविध समास्याहरु समाधानका लागि गाउँपालिकाले ३५ लाख रुपैँया छुट्टयाएको छ । विगतका संचालन भएका योजना तथा कार्यक्रम मर्मतसम्भारका लागि १० लाख रुपैँया बिनियोजन भएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरुलाई कानुनी रुपमा सवल तथा सक्षम बनाउन तालिम संचालनका लागि अर्को १० लाख रुपैँया बिनियोजन भएको गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै, गाउँपालिकाको विकट भूगोललाई मध्यनजर गर्दै पालिकाअन्तरगत कार्यरत्त जनप्रतिनिधि तथा कर्मचारीहरु कामको शिलशिलामा घाइते भएमा आपतकालिन उद्धारका लागि १० लाख रुपैँया बिनियोजन भएको छ । कर्मचारी सेवा निवृत्त सुविधा कोष खडा गर्नका लागि २० लाख रुपैँया बिनियोजन गरिएको पालिकाको बजेट बक्तव्यमा भनिएको छ ।
महिलाहरुका लागि नेतृत्व विकास तथा भाषणकला तालिमका लागि ५ लाख, युवा लुिक्षत खेलकुद कार्यक्रम संचालनका लागि ३ लाख, गाउँपालिकास्तरीय फुटबल तथा भलिबल प्रतियोगिता आयोजना तथा व्यवस्थापनका लागि १० लाख, झोलुंगे पुलहरु मर्मत तथा सम्भारका लागि १० लाख तथा वडाहरुको सम्भाव्यताका आधारमा उन्नत जातको बिउबिजन अनुदानमा उपलब्ध गराउनका लागि ८ लाख बिनियोजन भएको छ ।
गाउँपालिकाको प्रशासकिय भवन निर्माणको निरन्तरताका लागि भने एककरोड ५० लाख रुपैँया बिनियोजन भएको पालिकाको भनाई छ । प्रधानमन्त्री रोजगार कार्यक्रमसँग साँझेदारीमा पालिकाभित्र रोजगारी सिर्जनाका लागि ३० लाख, पालिकाभित्रका शिक्षा, स्वास्थ्य, पर्यटन एवं समग्र विकासमा सहयोग पु¥याउने व्यक्ति तथा स्रष्टा सम्मानका लागि ७ लाख, गाउँपालिकाअन्तरगत विभिन्न पदमार्ग स्तरोन्नती तथा सुरक्षित पदमार्ग निर्माणका लागि ४० लाख र कर्मचारी पालिकामा टिकाईराख्न कर्मचारी आवास कार्यक्रमका लागि १० लाख बिनियोजन गरेको उल्लेख छ ।




