| बुधबार, असार ९, २०८३

बाह्रकिलोको सार्वजनिक जग्गा खालि गर्न सामुहिक पहलको खाँचो

सार्वजनिक तथा सरकारी जग्गा हडपेर भौतिक संरचना बनाउनु, व्यापार, बिजनेश गर्नु, खेती आवादी गर्नु तथा बसोबास गर्नु कानून विपरीत कार्य हो । आफ्नो निजी लालपूर्जा भएको जग्गाका अलवा सरकारी तथा सार्वजनिक जग्गाको लोभ लालच गर्नु अविवेकी कार्य मात्र होइन, दण्डनीय कार्य समेत हो ।

तर जोसंग आफ्नो नाउँमा कत्तिपनि जग्गा जमिन छैन, उनीहरुसंग लालपूर्जावाला कत्तिपनि जग्गा जमिन छैन, उनीहरुलाई जग्गा दिलाउने जिम्मा सरकारको हो । किनभने कुनैपनि नागरिकलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको जिम्मा सरकारले लिएको हुन्छ र त्यो जिम्मेवारी बहन पनि गर्नुपर्दछ ।

प्रसंग बाह्रकिलो बजारको हो । यहाँको सार्वजनिक जग्गा कब्जा गरी करिब ४० घर टहरा निर्माण भएका छन् । त्यहाँ व्यापार, बिजनेश भइरहेका छन् । कतिपयले गरिखान पाउनु पर्छ भन्ने तर्क पनि गरिरहेका छन् । गरिखानलाई सरकारले प्रश्रय गर्नुपर्छ तर सार्वजनिक जग्गा हडपेर निजी व्यापार, व्यवसाय गर्नु जायज हुदैन ।

बास्तविक सुकुम्बासीलाई सरकारले निश्चित पनि वैकल्पिक जग्गाको व्यवस्था गर्नेछ र गर्नुपर्छ पनि । भलै उनीहरुले रोजेको ठाउँ नमिल्न सक्छ । अहिले सरकारले अघि बढाएको यो अभियानलाई सबैले सहयोग गर्नुपर्छ । अहिले सरकार देशभरका सार्वजनिक, सरकारी जग्गा कब्जा गरेर बस्ने तथा आवाद गर्नेहरुलाई यस्तो प्रकृतिको जग्गा छाड्न निर्देशन गरेको छ ।

रखामा पनि बाह्रकिलो बजारलाई खालि गराउन नगरपालिका, वन डिभिजन, वन सवडिभिजन, सामुदायिक वन उपभोक्ता समूह सबै एकजुट भएका छन् । यही मौकामा सर्वसाधारणले पनि होस्टेमा हैसे गरेमा यहाँको सार्वजनिक जग्गा अतिक्रमण समाधानको बाटोमा जाने पक्का छ ।

बास्तविक सुकुम्बासीलाई बैकल्पिक जग्गाको व्यवस्था गर्दै अवास्तविक सुकुम्बासीलाई सार्वजनिक, सरकारी जग्गाबाट हटाउन सबैले पहल गरौँ ।

प्रतिक्रिया दिनुहोस्