
बाह्रकिलोको अतिक्रमित वन क्षेत्र सातदिनभित्र खालि गर्न निर्देशन
आँबुखैरेनी गोरखा सडकको बाह्रकिलो वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सातदिने अल्टिमेटम दिइएको छ । गोरखा नगरपालिका वडा नं. ११ मा रहेको बाह्रकिलो वनक्षेत्रमा निर्माण गरिएका तीन दर्जन भन्दा धेरै घरटहरा आउँदो असार १३ गतेभित्र हटाउन ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समूहले आग्रह गरेको हो ।
वन समूहले डिभिजन वन कार्यालय गोरखा र गोरखकाली सवडिभिजन वन कार्यालयबाट प्राप्त पत्रको हवला दिँदै सातदिनभित्र वन क्षेत्रमा निर्मित घरटहरा नहटाएर सुरक्षाकर्मी लगाएर हटाइने चेतावनी दिएको छ । साथै गोरखा नगरपालिकाको गत वैशाख २५ गतेको कार्यपालिका बैठकको निर्णय उल्लेख गर्दै निर्धारित समयसीमाभित्र वन क्षेत्रको जग्गा खालि गर्न भनेको छ ।
आँबुखैरेनी गोरखा सडकको बाह्रकिलो भन्ने ठाउँबाट गोरखाको क्षेत्र नं. २ का छेपेटार, पालुङटार, भच्चेक, बारपाक, ताकुकोट लगायतका सबै ठाउँमा जाने सडक सुरु हुन्छ । सोही ठाउँको सार्वजनिक जग्गाकब्जा गरी व्यक्तिहरुले विगत २०६० सालदेखि पसल सञ्चालन गर्दै आएका छन् । २०७३ सालमा त्यहाँ निर्मित पक्की घर टहरा वन कार्यालयले हटाएको थियो, तर केही समयपछि फेरि अस्थायी घरटहरा निर्माण गरेर व्यापार सुरु गरेका थिए । अहिले यहाँको सार्वजनिक जग्गामा ४० भन्दा धेरै घरटहरा बनेका छन् ।
सार्वजनिक जग्गामा बनेका घर टहरा हटाउने नेपाल सरकारको नीति अनुसार फेरि सो ठाउँको सार्वजनिक जग्गामा बनेका संरचना हटाउन खोजिएको हो । अवैध रुपमा व्यापारिक प्रयोजनका लागि बनेका घरटहरा हटाउन नगर कार्यपालिकाले डिभिजन वन कार्यालयलाई, डिभिजन वन कार्यालयले सव डिभिजन वन कार्यालयलाई र सव डिभिजनले सामुदायिक वन उपभोक्ता समूहलाई पत्राचार गरेको छ ।




