| बुधबार, असार ९, २०८३

मनास्लुको फेदीमा हाइअल्टिच्यूड फुटबल प्रतियोगिता

मनासलु हिमालको फेदीमा हाइअल्टिच्यूड फुटबल प्रतियोगिता हुने भएको छ । समुद्री सतहदेखि ३५०० मिटर उचाइमा रहेको स्याला खेलमैदानमा आउँदो बुधबारदेखि मनास्लु कप फुटबल प्रतियोगिता हुने आयोजक संस्थाका थार्पा लामाले जानकारी दिए ।

आलोपालो पद्धति अनुसार यस पटकको प्रतियोगिता बिही सेराङ्गी हिमाली युवा क्लवले आयोजना गर्न लागेको उनले बताए ।
प्रतियोगितामा १२ टिम सहभागी हुँदैछन् । प्रतियोगितामा बिजेता हुने टिमले नगद रु एक लाख ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिताको उपविजेता टिमले रु ७५ हजार र प्रतियोगितामा तेस्रो हुनेले नगद रु ४५ हजार पुरस्कार प्राप्त गर्ने लामाले जानकारी दिए । खेलाडीहरुले उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर, उत्कृष्ट गोल रक्षक, अनुशासितलगायत विभिन्न शीर्षकमा पुरस्कार पाउनेछन् ।

महिलातर्फको प्रतियोगितामा बिजेता हुनेले पनि नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकको भनाइ छ । उत्तरी गोरखा हिमाली भेगका युवाहरु बीच मेलमिलापको भावना विकास गर्न र स्थानीयहरु बीच एकआपसमा मेलमिलापको भावना जोगाउन लामा गुरु सोनाम दोर्जे रिम्पोछेले पहिलो पटक २०७३ सालबाट नुब्री मनास्लु कप फुटबल प्रतियोगिता नाम दिएर हाइअल्टिच्यूड फुटबल खेलको आयोजना गरी सुरु गरेका थिए ।

सोही समयबाट निरन्तर प्रतियोगिता आयोजना हुँदै आएको छ । प्रत्येक वडाले आलोपालो आयोजना गर्ने नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको आठौं श्रृङ्खला वडा नं. ५ को बिही सेराङ्गी हिमाली युवा क्लवले आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्