
१२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा निःशुल्क योग शिविर सम्पन्न
१२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा आयोजित एक दिवसीय निःशुल्क योग शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजना तथा गोरखनाथ कल्याण केन्द्र, नेपाल र नेचुरल साउन्ड हिलिङ इन्टरनेसनल स्कुलको सहआयोजनामा शिविर सम्पन्न भएको हो ।
जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगर, गोरखा जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद गौतम, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगर, उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, द्रव्यशाह क्याम्पसका प्रमुख एकदेव अधिकारी, रामचन्द्र दुवाडी, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्के लगायत सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय सर्वसाधारणको सहभागिता रहेको थियो ।
शिविरमा योग प्रशिक्षक अशोक शर्मा भट्ट, शबनम खड्गी, अच्युतकृष्ण शरण तथा यलिस बन्जारा लगायत प्रशिक्षकले हठयोग, प्राणायाम तथा साउन्ड हिलिङसम्बन्धी प्रयोगात्मक प्रशिक्षण प्रदान गरेका थिए । सहभागीहरूले योगका विभिन्न आसन, श्वास प्रश्वास विधि तथा ध्वनि चिकित्सामार्फत मानसिक शान्ति र आन्तरिक सन्तुलन प्राप्त गर्ने उपायबारे जानकारी लिएका थिए।




