
भिमसेनथापाको गाउँसभा सम्पन्न, आगामी वर्षका लागि ५६ करोड ३८ लाख ४७ हजारको बजेट पारित
जिल्लाको भिमसेनथापा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५६ करोड ३८ लाख ४७ हजार बजेट पारित गरेको छ । गाउँपालिकाको शुक्रबार सम्पन्न १८ औँ गाउँसभा तथा पालिका अधिवेशनमा पालिका उपाध्यक्ष अमृतादेवी वस्तीले प्रस्ताव गरेको उक्त बजेट गाउँसभाले पारित गरेको हो ।
अधिवेशनमा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले आगामी आव २०८३/०८४ को पालिका नीति तथा कार्यक्रम पेश गरेका थिए । उक्त नीति तथा कार्यक्रम पनि सर्वसम्मतले पारित भएको पालिकाको प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले बताए । कार्यक्रममा पालिका उपाध्यक्ष वस्तीले न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा स्थानीय राजस्व परामर्श समितिको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको उनले जानकारी दिए ।
यसैगरी, गाउँसभा अन्तर्गत गठित लेखा समिति, सुशासन समिति र विद्यायन समितिका संयोजकहरुले आर्थिक बर्ष २०८२/०८३ को हालसम्मको प्रतिवेदन पेश गरेको गाउँपालिकाले जनाएको छ । साथै, गाउँकार्यपालिका अन्तर्गतका सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वन, बातावरण तथा विपद व्यवस्थापन समिति, आर्थिक विकास समिति, सेवा प्रवाह सुशासन तथा संस्थागत क्षमता विकास समितिका लगायतका विषयगत समितिहरुका संयोजकहरुले सम्बन्धित विषयगत प्रतिवेदन पेश गरेका थिए । अधिवेशनमा उक्त प्रतिवेदनहरु सर्वसम्मत पारित भएको गाउँपालिकाले जनाएको छ ।




