
गोनपा–२ का किसानलाई मिनि टिलर वितरण
गोरखा नगरपालिका–२ ताप्लेका किसानलाई मिनि टिलर वितरण गरिएको छ । वडाको कृषि तथा पशुपालन प्रोत्साहन कार्यक्रमअन्तर्गत १७ जना किसानलाई मिनि टिलर वितरण गएिको हो ।
मंगलबार एक कार्यक्रम आयोजना गरी नगरप्रमुख कृष्ण राना मगरले किसानहरुलाई सो कृषि सामग्री हस्तान्तरण गरेका वडाअध्यक्ष रहमतुल्ला मियाँले जानकारी दिए । वडाध्यक्ष मियाँका अनुसार १७ जनामध्य डिजेल इन्जिन भएको ४ जनाले र बाँकी १३ जनाले पेट्रोल इन्जिन भएको टिलर खरिद गरेका थिए । उनीहरुलाई पालिकामार्फत वडा कार्यालयले २० हजार रुपैयाँ अनुदान दिएको वडाअध्यक्ष मियाँले जानकारी दिए ।
कृषिलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने नगरपालिकाको उद्देश्य रहेको सो अवसरमा बोल्दै मेयर रानाले बताएका थिए ।
नजिकिदैँ गरेको बर्खाको समयलाई मध्यनजर गर्दै मिनि टिलर खरिद गरि वितरण गरिएको उनले बताए । ‘अहिले गोरु पाल्न छोड्दै गयो, गाउँमा मान्छे कम भएर खनजोतमा पनि समस्या हुनेभयो,’ उनले भने, ‘गोरुले चार दिन लगाएर जोत्ने खेत यसले एकैदिनमा जोत्छ, काम छिटो हुन्छ नै लागत पनि कम लग्छ ।’ प्रोत्साहन कार्यक्रमअन्तर्गत वडाले यसअघि ५० प्रतिशत अनुदानमा धानको बिउ पनि वितरण सम्पन्न गरिसकेको वडाध्यक्ष मियाँले जानकारी दिए ।
कृषि तथा पशुपालन प्रोत्साहन उपभोक्ता समितिका अध्यक्ष रेशम बहादुर खड्काको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा भएको वितरण कार्यक्रममा वडाध्यक्षा मियाँ, वडासदस्यहरु, उपभोक्ता समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।




