| बिहिबार, असार ३, २०८३

भाइरल चौरलाई पूर्वाधारयुक्त बनाऊ

गोरखाको पालुङ्टार ७ च्याङ्लीको मस्र्याङ्दी किनारमा अवस्थित एक चौर एकाएक चर्चित बन्यो । टिकटकरहरुले त्यहाँ गएर टिकटक बनाउने, पोस्ट गर्ने गर्दागर्दै सो चौर अहिले आन्तरिक पर्यटकको नयाँ गन्तव्य बन्यो । त्यहाँसम्म पुग्न पृथ्वीराजमार्गको आँबुखैरेनी डुम्रे सडकखण्डको नयाँपुलबाट मस्र्याङ्दी तरेर एक किलोमिटर पार गर्नुपर्दछ । यातायातको पहुँच सहज भएर पनि हुनसक्छ, सो चौरमा आन्तरिक पर्यटकको लर्कन लागेको ।

साथै त्यहाँ करिब ३६ रोपनी क्षेत्रफलमा फैलिएको ठूलो चौर, सितल दिने बुट्यान, मस्र्याङ्दीबाट बहने सितल हावाजस्ता प्राकृतिक सुविधाले पनि हुनसक्छ, पर्यटकको घुइँचो लागेको । त्यस्तै केही माथिबाट फोटो, भिडियो खिच्दा ज्यादै आकर्षक देखिने भएकाले पनि मान्छेहरु लोभिएका हुन् ।

गोरखा, तनहूँ, लम्जुङको यस क्षेत्रबाट पिकनिकका लागि यो चौर ज्यादै सुहाउँदो छ । अब यसलाई पिकनिक स्पटका रुपमा विकास गर्नु जरुरी छ । त्यसैले पालुङटार नगरपालिकाले गुरुयोजना बनाई यस क्षेत्रको विकास गर्नु जरुरी छ । यसो गर्नाले यस क्षेत्रका बासिन्दाले वनभोजका लागि, समय व्यतितका लागि, पारिवारिक भ्रमणका लागि उपयुक्त गन्तव्य भेट्नेछन् । त्यस्तै स्थानीयबासीले होटल, रेस्टुरेण्ट व्यवसाय गरी आयआर्जन गर्ने अवसर पाउँछन् । जसरी आँबुखैरेनी गाउँपालिकाले ऐनापहरामा विभिन्न हेर्ने ठाउँको विकास गरी आम्दानीको माध्यम बनाएको छ, त्यसैगरी टिकट शुल्कबाट नगरपालिकाले पनि राम्रै आम्दानी गर्ने निश्चित छ ।

अहिले यहाँ विनापूर्वाधार पर्यटकको भीड लाग्ने गरेको छ । अब यहाँ पुलदेखि चहुरसम्म कालोपत्रे चिल्लो सडकको जरुरी भइसकेको छ । त्यस्तै यहाँ खानेपानीको प्रवन्ध हुनु जरुरी छ । त्यसैगरी पर्याप्त सौचालय, पिकनिकका लागि कटेजहरु, वालउद्यानहरु बनाउनु आवश्यक छ । पूर्वाधार बनाएर पर्यटक लोभ्याउनु जरुरी भएन अब पर्यटकले भरिइसकेका छन् । उनीहरुलाई आवश्यक पूर्वाधार निर्माण गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्