
भच्चेकदेखि सिरानडाँडासम्म सिसि टिभी जडान गरिने
पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको गोरखाको अजिरकोट गाउँपालिका–३ को भच्चेकदेखि सिरानडाँडासम्म सिसि टिभी जडान गरिने भएको छ । नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने उद्देश्यका साथ सिसि टिभी जडान गर्न लागिएको गाउँपालिकाका प्रमख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए ।
सोको लागी प्रकिया अघि बढिसकेको पन्थीले बताए । उनका अनुसार सिसि टिभी जडानका लागि सन टेक्नोलोजी काठमाडौँ (गोरखा ब्रान्च)सँग सहमति गरिएको छ । सो क्षेत्रमा करिब ६० वटा सिसि टिभी क्यामेरा जडान गरिने प्रमुख प्रशसकीय अधिकृत पन्थीले बताए । ‘यति नै जडान गर्ने भन्ने यकिन भएको छैन, अहिले करिब ६० वटा जडान गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘संख्या भने जडान गरिसकेपछि मात्रै थाहा हुन्छ ।’ भच्चेक पर्यटकको गन्तव्यस्थल मात्रै नभई व्यपारिक स्थल पनि बन्दै गएको छ ।
यहाँ गर्मी छल्नका लागि अन्तरिक तथा बाह्य पर्यटक उल्लेखनीय मात्रामा आउने गर्दछन् । पर्यटक बढेसँगै सुरक्षाका कुरा पनि जोडिने भएकोले सिसि टिभी क्यामेरा जडान आवश्यक रहेको प्रमुख प्रशसकीय अधिकृत पन्थीको भनाई छ । ‘सिसि टिभी जडान भएपछि स्थानीयबासी र यहाँ घुम्न आउने पर्यटकलाई सुरक्षाको अनुभूति हुन्छ,’ उनले भने, ‘सिसि टिभी छ भन्ने थाहा भए पछि गलत कार्य गर्नेलाई पनि आफु सजायको भागेदार हुन्छु भन्ने हुन्छ, यस्ता कार्य रोक्न पनि मद्त गर्दछ ।’
कुनै अप्रिय घटना घट्न नदिन र घटिहालेको खण्डमा पनि अनुसन्धान गर्न सहज हुने पन्थीले बताए । सिसि टिभी क्यामेरा जडानको काम यहीँ आर्थिक वर्षको असार मसान्त भित्रनै सक्ने लक्ष्य रहेको उनले जानकारी दिए ।




