| बुधबार, असार २, २०८३

यार्सागुम्बाको दीगो संरक्षण र कारोबारलाई सहज बनाऊ

गोरखाको हिमालपारि अवस्थित सामागाउँ, साम्दो र छेकम्पारका बासिन्दा यतिबेला यार्सागुम्बा संकलन गर्न लेकमा छन् । उहियाँका कतिपय बासिन्दा पनि विभिन्न लेकमा यार्सागुम्बा संकलन गर्न पुगेका छन् ।

बहुमूल्य यार्सागुम्बा संकलन र बिक्री गरेर आर्थिक आर्जन गर्नु यहाँको बासिन्दाको प्रमुख आम्दानीको स्रोत हो । त्यसैले उनीहरु ज्यानको पर्वाह नगरी कठिन भन्दा कठिन लेकमा पनि जान तयार हुन्छन् । दुखका साथ भन्नुपर्छ, यार्सागुम्बा संकलनका क्रममा बर्सेनि त्यस भेगका कतिपयको ज्यान जाने गर्छ ।

ज्यानको पर्वाह नगरी संकलित यार्सागुम्बा बिक्रीका लागि उनीहरु तिब्बती बजारमा जाने गर्छन् । यार्सागुम्बा बेचेर कमाएको रकमले उनीहरुले बर्षदिनभरिका लागि पुग्ने खाद्यान्न, लत्ता कपडा तथा अन्य आवश्यक पर्ने सामान किनेर ल्याउँछन् ।
त्यस्तै छोराछोरीलाई सहरमा राखेर पढाउने खर्च पनि उनीहरुले यसरी नै जुटाउने गर्छन् ।

यार्सागुम्बा बिकट क्षेत्रका बासिन्दाहरुका लागि वरदान हो । प्रमुख आयस्रोतका वा वरदानका रुपमा रहेको यार्सागुम्बा संरक्षणमा अब नयाँ पुस्ता जागरुक हुनुपर्छ । किनभने यसलाई अहिलेमात्र होइन, सन्ततिका पालासम्म पनि राख्नुपर्छ । संरक्षण गर्दै संकलन गर्ने प्रणालीको विकास गर्नुपर्दछ । त्यसका लागि कुन विधि, पद्धति अपनाउने भन्ने बारे विज्ञहरुको राय सुझाव अपनाउनु पर्दछ ।

त्यस्तै यार्सागुम्बा विक्री पनि कतिपय अवस्थामा अवैध तरिकाले भइरहेको छ । यसलाई बिना भन्सार कर तिब्बती बजारमा पु¥याइन्छ । भन्सार नतिरी लगिएका सामान वैध हुँदैनन । सीमानामा भन्सार छैन । भन्सार नै नभएपछि स्थानीयबासी भन्सार खोज्न कहाँ जाउन् । त्यसैले उनीहरुले सरकारलाई खुशी आत्माले भन्सार तिरेर तिब्बती बजारमा लैजान पाउने वातावरण सिर्जना गर्नु सरकारको दायित्व हो । यसले स्थानीयबासीको राम्रो आयस्रोत पनि हुने, वैध पनि हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्