
गोरखा जेसीजद्वारा रक्तदान कार्यक्रम सम्पन्न
विश्व रक्तदाता दिवस २०२६ को अवसरमा गोरखा जेसीजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा गोरखा नगरपालिका वडा नं. ६ स्थित जेसीज प्रतिक्षालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त रक्तदान कार्यक्रममा कुल १५ पिन्ट रगत संकलन गरिएको कार्यक्रम संयोजक एवं गोरखा जेसीजका उपाध्यक्ष सन्दीप बयलकोटीले बताए । कार्यक्रममा स्थानीय बासिन्दा, जेसीज सदस्यहरू तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता जनाएको उनले जानकारी दिए । रक्तदान जीवनदान भएको उल्लेख गर्दै यस्ता मानवीय तथा सामाजिक कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइने गोरखा जेसिज अध्यक्ष सुजित श्रेष्ठको भनाई छ ।
गोरखा जेसीजका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा वडा नं.६ का वडाध्यक्ष राजेन्द्र कुमार जोशीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरू कृष्ण कुमार श्रेष्ठ, आनन्द गुरुङ, प्रविण बस्नेत तथा नेपाल रेडक्रस सोसाइटीका रक्तसञ्चार संयोजक लगायतको उपस्थिति रहेको थियो।




