
सगरमाथा आरोहीहरूलाई लाप्राक समाजद्वारा सम्मान
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने लाप्राकका युवाहरुलाई सम्मान गरिएको छ । लाप्राक समाज काठमाडौंद्वारा शनिवार आयोजित एक समारोहका बीच सगरमाथा आरोहीहरूलाई सम्मान गरिएको हो ।
विभिन्न समयमा सगरमाथाको सफल आरोहण गर्ने १२ जना साहसी आरोहीहरूलाई सम्मान गरिएको समाजका अध्यक्ष श्री बहादुर गुरुङले बताए । जसमध्ये यसै वर्ष मात्रै सगरमाथाको सफल आरोहण गरेका ४ जना नयाँ आरोहीहरूलाई पनि सम्मान गरिएको उनले बताए । कूल सम्मानित हुने १२ जना आरोहीहरूमध्ये कार्यक्रममा ९ जनाको उपस्थिति रहेको उनले जानकारी दिए । आरोहीहरूलाई खादा ओढाएर सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष गुरुङको अध्यक्षता तथा नेपालका प्रथम अन्तराष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सुनार बहादुर गुरुङको प्रमुख आतिथ्यताममा भएको कार्यक्रममा धार्चे गाउँपालिकाका पूर्व अध्यक्ष सन्तोष गुरुङ, आमबहादुर गुरुङ प्रथम उपाध्यक्ष, तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिकी प्रथम उपाध्यक्ष नरमाया गुरुङ ’निशा’ लगायतको उपस्थिति रहेको थियो ।




