
उत्पादनका आधारमा मात्र कृषि अनुदान
उत्तरी गोरखाको धार्चे गाउँपालिकाले बास्तबिक किसान पहिचान गरी अनुदान दिएको छ । गाउँसभाले निर्णय गरेअनुसार सो पालिकाले कृषि तथा मासुजन्य बस्तु उत्पादन गर्नेहरुलाईमात्र अनुदान वितरण गरेको हो । यस आर्थिकबर्ष पालिकाले कृषि तथा मासुजन्य उत्पादनमा अनुदान दिनका लागि ४० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । सोही रकमबाट कृषि तथा पशुपालन व्यवसाय गरिरहेका धार्चेका किसानहरुलाई अनुदान वितरण गरिएको कृषि शाखाका प्रमुख अनिल नेपालीले जानकारी दिए ।

कृषितर्फ विनियोजित २० लाख रुपैयाँमध्य १७३ जना किसानलाई १७ लाख रुपैयाँ हस्तान्तरण गरिएको नेपालीले जानकारी दिए । २० लाख रुपैयाँ विनियोजन गरिएको पशुतर्फ १२० जना किसानलाई १६ लाख ७२ हजार २६५ रुपैयाँ अनुदान वितरण गरिएको नेपालीले जानकारी दिए । ‘जो किसानलले धेरै उत्पादन गर्नुभएको छ । उहाँहरुले सोही अनुपातमा अनुदान पाउनु भएको छ । थोरै गर्नेहरुले थोरै नै पाउनु भएको छ’, नेपालीले भने । कृषितर्फको अनुदान सबैभन्दा धेरै चुङकाङ जडीबुटी कृषि तथा पशुपन्छी प्रालिका मनबहादुर गुरुङले रु ४५ हजार १७० रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै पशुतर्फ वडा नं. ५ का गोठ व्यवस्थापन समितिका राममाया गुरुङले रु ५४ हजार प्राप्त गरेकी छिन् ।

नक्कली किसानले अनुदान पाउने अवस्था अन्त्यका लागि सो गाउँपालिकाले उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि २०८० निर्माण गरी कार्यान्वयन गरेको छ । सोही कार्यविधि अनुसार किसानहरुलाई अनुदान दिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । यसले किसानलाई आत्मनिर्भर बनाउनुका साथै साना किसानलाई व्यवसायिक बनाउन सहयोग गर्ने गुरुङले बताए । यो कार्यक्रमले एकल तथा दलित महिला र विदेशबाट फर्किएर स्वरोजगार गरेका युवाहरुलाई उत्साहित बनाएको पालिकाको विश्वास छ ।





