
गोरखाको सडकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
गोरखाको सडकमा ट्राफिक अवस्था अस्तब्यस्त देखिने गरेको गुनासो बढिरहेको छ । सवारी साधनले मापदण्ड विपरीत सामान ढुवानी गर्ने गरेको स्थानीयबासीको गुनासो छ । जीप, ट्रक ट्रयाक्टरजस्ता माल बाहक सवारी साधनले मापदण्ड मिचेर सामान ढुवानी गर्ने गरेको हरमटारीका एक व्यवसायी राजकुमार थापाको भनाइ छ । ‘जीपले पनि बिजुलीका पोल, लामा(लामा पाइप, रड, बाँसका सिंगै घना बोक्छन्’, उनी भन्छन्, ‘गाडीबाट बाहिर निकालेर सामान ओसार्न पाइँदैन भन्छ तर ट्रयाक्टरले पनि सडकमै लतारेर रड बोक्छन् ।
गाडीबाट बाहिर निस्केको भागमा टाढाबाट प्रष्ट देखियोस् भनेर रातो रङको कपडा बाँध्नुपर्छ भन्ने छ, तर त्यो नियमको पनि पालना भएको देखिँदैन ।’ सडकमा खटिएका ट्राफिक प्रहरी पनि मुकदर्शक बनेर बस्ने उनको भनाइ छ । रातो प्लेटको बोलेरो जीपले पनि यात्रु बोक्ने, सडकमै लतारेर लामा सामान बोक्ने गरेको अर्का स्थानीय अमृत श्रेष्ठ बताउँछन् । ‘गोरखा बजारबाट चल्ने १८ वटा ट्र्याक्टरको सवारीधनी प्रमाणपत्र नभएको मेरो जानकारीमा छ’, उनी भन्छन्, ‘लामो लामो सामान घिसारेर बोक्दा साँगुरा घुम्तीमा धेरै जोखिम देखिन्छ ।
बजारभित्रैको सडकको पनि मर्यादा नराखी जथाभावी सामान बोक्दा बजारको शोभा पनि देखिदैन ।’ आफूहरुले समय समयमा टूाफिक प्रहरीलाई सुझाव दिने गरे पनि सुनुवाइ नहुने गरेको उनको भनाइ छ । तर जिल्ला टूाफिक प्रहरी कार्यालय प्रमुख सुरज अर्यालले भने आफूहरुले सकेसम्म व्यवस्थित बनाउने प्रयास गरिरहेको दाबी गरेको छ । ‘हामीले टूाफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न सक्दो प्रयास गरिरहेका छौँ । यदाकदा कतै हेर्न नसकिएको हुनसक्छ’, उनले भने, ‘अझै सुधार गरेर अघि बढ्न तत्पर छौँ ।’




