
सरकारको विभेदपूर्ण विज्ञापन नीति बिरुद्ध पत्रकार महासंघको धर्ना
सरकारको विभेदपूर्ण विज्ञापन नीति बिरुद्ध पत्रकार महासंघ गोरखाले धर्ना कार्यक्रम गरेको छ । सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजीको माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसेको महासंघका जिल्ला अध्यक्ष नरेन्द्र ढकालले बताए ।
महासंघका अध्यक्ष लगायत अन्य पदाधिकारीहरुले धर्ना बसेर प्रेसको संवैधानिक हकको रक्षाका निर्वाध सूचना उपभोगको सुनिश्चितताका लागि माग गरेको उनले जानकारी दिए । माग सम्बोधनका लागि महासंघले केन्द्रदेखि नै दवावमूलक आन्दोलन घोषणा गरेको छ । जसअन्तरगत गत सोमवार हस्ताक्षर संकलन कार्यक्रम संचालन भएको थियो । बुधबार र शुक्रबार भने जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम रहेकोले सोही तालिका अनुसार कार्यक्रम गरेको महासंघ गोरखाले जनाएको छ ।
सरकारी बिज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन गर्नुपर्ने भन्दै केही समयअघि सरकारले निर्णय गरेको थियो । उक्त निर्णयको बिरोध गर्दै महासंघले चरणवद्ध रुपमा आन्दोलन गर्दै आएको छ । माग पूरा नभए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने महासंघले जनाएको छ ।




