| बुधबार, जेष्ठ २६, २०८३

भीमसेन थापा गाउँपालिकाभत्रका घरधुरी तथा सरकारी भवनको बीमाका लागि सम्झौता

भीमसेन थापा गाउँपालिकाभित्रका निजी घर तथा सरकारी भवनहरुको बीमा हुने भएको छ । सोमवार पालिकाले राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । पालिकाको प्रशासनीक भवनको बीमा गरेर सुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए ।

‘आज सम्झौता भयो, बीमाका लागि अव हामी सार्वजनिक सूचना आव्हान गर्छाै,’ उनले भने, ‘इच्छुक घरधुरीले आवश्यक कागजातसहित वडामा निवेदन बुझाउनुहुन्छ ।’ वडामा प्राप्त निवेदनहरु संकलन गरेर बीमा कम्पनीमा पठाइने उनले जानकारी दिए । उनका अनुसार प्रत्येक घर तथा भवनको चार लाखसम्मको बीमा गरिने छ । क्षतिको आधारमा बढीमा चार लाखसम्म क्षतिपूर्ति रकम पीडितले पाउने छन् ।

इट्टा–सिमेन्टले बनेका ढलान घर र भूकम्पपछि निर्माण भएका ढुंगा÷इट्टा तथा माटोका घरहरु बीमामा समावेश हुने सम्झौतामा उल्लेख छ । पूर्ण अस्थायी (काठ, टिन, माटो) ले बनेका, बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने, ऐलानी तथा सडक मापदण्डभित्रका घरहरु बीमामा समावेश नहुने बताइएको छ ।

विपदजन्य घटनाबाट घरहरुमा हुने क्षतिको क्षतिपूर्ति उपलब्ध गराउने उदेश्यले बीमा कार्यक्रम अघि सारिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । ‘पालिका आफैले क्षतिपूर्ति दिन धेरै रकम आवश्यक पर्छ, त्यसैले बीमा कम्पनीसँग सम्झौता गरेका हौ,’ उनले भने । बार्षिक सम्पत्ति कर वापत पालिकाले सबै घरधुरीबाट न्यूनतम २५० रुपैया लिदै आएको र सोही रकमबाट बीमा गरिने उनले जानकारी दिए ।

बीमा कम्पनीका जोखिमांकन बिभाग प्रमुख निरञ्जन आचार्य र पालिका अध्यक्ष लोकप्रसाद बञ्जराले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अवधि एक बर्षको हुने र थप गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्