| आइतवार, जेष्ठ २३, २०८३

गोरखामा ‘गबारो’ र ‘नेक ब्लाष्ट’ को प्रकोपले चैते धान सखाप

बर्खे धानमा समेत फैलन सक्ने जोखिम
जिल्लामा खेति गरिएको चैते धान ‘गबारो’ र ‘नेक ब्लाष्ट’ नामक रोगको प्रकोपले नष्ट गरेको छ । भित्र्याउने बेला भएको अधिकांश धानवालीमा क्षति पुगेको कृषि बिकास कार्यालयले जनाएको छ । ‘वाला झुलेर भित्र्याउने बेला लगभग भएको थियो,’ कार्यालयका कृषि प्रसार अधिकृत विवेक पौडेलले भने, ‘एक्कासी रोग लागेर सखाप बनायो ।’ पाँच दिनको अन्तरालमा करिव शत प्रतिशत वालीमा क्षति पुर्याएको उनले बताए ।

उनका अनुसार यो बर्ष गोरखा, सिरानचोक, पालुङटार लगायतका पालिकाको करिव तीन हजार रोपनी क्षेत्रफलमा चैते धान लगाइएको थियो । खेती भएका अधिकांश ठाउँमा यो रोग फैलिएको छ । भित्र्याउने बेला भएको धानवाली नष्ट भएपछि किसानहरु चिन्तित छन् ।

‘यो रोग लागेपछि धानको वालामा दानाको सट्टा भुस मात्र हुने रहेछ । अधिकांश खेतिमा यही समस्या देखिएको छ,’ उनले भने । प्रदेश कृषि प्रयोगशाला पोखराबाट प्राविधिक टोलिले खेतीको स्थलगत अध्ययन समेत गरिसकेको उनले बताए । नेक ब्लाष्ट र गबारो रोग रहेको प्रारम्भिक अनुमान टोलिले गरेको छ । परीक्षणको लागि नमूना संकलन गरेर प्रयोगशाला लगिएको छ ।

कार्यालयका अनुसार यसअघि गबारोले करिव २५ देखि ३० प्रतिशत खेति मात्र नोक्सान गथ्र्याे । तर यसपटक गबारोसँगै नेक ब्लाष्ट रोगको प्रकोपले शत प्रतिशत खेति नष्ट गरेको पौडेलले बताए । रोकथामका लागि बिषादी वितरण गरेपनि नियन्त्रण नभएको उनले जानकारी दिए । ‘छोटो समयमा धेरै रोग फैलिएको छ, रोकथाम गर्न समस्या छ,’ उनले भने ।

बिगत तीन बर्षदेखि गण्डकी प्रदेश सरकारले चैते धान खेतीलाई पाइलट प्रोजेक्टको रुपमा गोरखामा लागू गर्दै आएको छ । राष्ट्रिय कृषि आधुनिकिकरण परियोजनाको धान जोन क्षेत्रमा समेत पर्ने ठाउँहरुमा रोगको प्रकोप देखिएको हो । उक्त रोग बर्खे धानमा समेत फैलिने जोखिम रहेकाले समयमै त्यसको नियन्त्रण हुनुपर्ने कार्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्