| आइतवार, जेष्ठ २३, २०८३

नीति कार्यक्रमलाई संमृद्ध बनाउन प्रविधि प्रयोग गर्दै पालिकाहरु

केही दिनभित्रै सार्वजनिक गर्ने नीति कार्यक्रमलाई बिगतको भन्दा सुधार गर्न पालिकाहरुले प्रविधिको प्रयोग गर्न थालेका छन् । नीति कार्यक्रम ल्याउनुअघि पालिकाहरुले भर्चुअल बैठक, क्यूआर कोड, इमेल, फोन तथा राजधानीमा सेमिनार गर्दै राय, सुझाव संकलन गरेका छन् ।

छिट्टै सार्वजनिक गरिने नीति कार्यक्रमका बारेमा राय सुझाव संकलन गर्न बारपाक सुलिकोट गाउँपालिकाले आउँदो शनिबार बिहान आठ बजे जुम मिटिङको आयोजना गरेको छ । पालिकाको वेभसाइट, फेसबुकफेजबाट सूचना जारी गर्दै सो पालिकाले जुम मिटिङका लागि लिङ्क सार्वजनिक गरेको छ ।

त्यस्तै धार्चे गाउँपालिकाले नीति कार्यक्रमलाई विगतको भन्दा संवृद्ध र स्तरीय बनाउन शनिबार बिहान आठ बजे काठमाडौंको सम्पदा गार्डेनमा पालिकाबासीहरुसंग सेमिनार आयोजना गरेको छ । सो सेमिनारलाई लाइभ प्रशारण गरी देश विदेशमा बस्नेहरुबाट समेत राय सुझाव संकलन गर्ने गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जनाएका छन् ।

सहिदलखन गाउँपालिका, अजिरकोट गाउँपालिकाले पनि छिट्टै सार्वजनिक हुन लागेको पालिकाको नीति तथा कार्यक्रमलाई अझै सुदृढ बनाउन राय सुझाव माग गरेका छन् । वेभसाइट तथा सामाजिक सञ्जालहरुमा सूचना जारी गर्दै पालिकाहरुले जेठ मसान्तसम्म क्यूआर कोडमार्फत, इमेल, फेसबुक पेजमार्फत तथा फोनबाट पनि सुझाव दिन सकिने उल्लेख गरेका छन् । साथै पालिकाको कार्यालयमा उपस्थित भएर वा पत्रमार्फत राय सुझाव पेश गर्न आव्हान गरेका छन् । पालुङ्टार नगरपालिकाले भने प्रविधिको प्रयोग गरेर राय सुझाव माग गरेर नीति, कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

‘आफ्नो पालिकामा के कस्ता नीति तथा कार्यक्रम लागु गर्ने भन्ने बारे देश विदेशमा रहेका पालिकाबासीहरुसंग सुझाव संकलन गर्न हामीले प्रविधिको प्रयोग गरेका हौँ’, धार्चे गाउँपालिकाका प्रमुख लक्ष्मण गुरुङले भने, ‘यसो गर्दा उहाँहरुमा पनि पालिकाको नीति, कार्यक्रमप्रति अपनत्व हुन्छ ।’ विगतमा भन्दा सुधार गर्न यसबर्ष प्रविधिको प्रयोग गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्