| शनिबार, जेष्ठ २२, २०८३

इतिहास पढाउने फोटो प्रदर्शनी

ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक धरोहरहरू कुनै पनि देशका जीवित इतिहास हुन् । हाम्रा पुर्खाले सिर्जेका यस्ता सम्पदाहरूले हाम्रो गौरव उजागर गर्दछन् । साथै यसले पुर्खाको पौरख, कला, र जीवनशैलीलाई मात्र झल्काउँदैनन्, वर्तमान पुस्तालाई आफ्नो जरोसँग जोड्ने काम पनि गर्दछन् ।

अहिले हनुमानढोका दरबार संग्रहालयले अहिले गोरखा संग्रहालयमा ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरुको फोटो प्रदर्शनी गरिरहेको छ । गत शनिबारदेखि सुरु भएको फोटो प्रदर्शनी शुक्रबारसम्म रहनेछ । फोटो प्रदर्शनमा गोरखा लगायत नुवाँकोट, पाल्पा, काठमाडौं, जनकपुर, लुम्बिनी, मकवानपुरका धार्मिक, ऐतिहासिक, सांस्कृतिक सम्पदाहरुको फोटो राखिएका छन् ।

ती सम्पदाहरुका विषयमा विद्यालय तथा क्याम्पस पढ्ने विद्यार्थीका पाठ्यक्रममा पठनपाठन हुने गर्दछ । पाठमा पढ्नुपर्ने ती सम्पदाको फोटो प्रदर्शनी हुँदा विद्यार्थीहरुलाई धेरै लाभदायक छ । अहिले गोरखा नगरपालिकाका प्राय सबै माध्यमिक तहका विद्यालयका विद्यार्थीहरु अवलोकन गर्न आएका छन् । यसले बालबालिकामा ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक सम्पदाप्रतिको मोह जागृत हुन्छ ।

धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूका तस्बिरहरू एकै थलोमा अवलोकन गर्न पाइनु आम नागरिक र विशेषगरी विद्यार्थीहरूका लागि एउटा सुनौलो अवसर हो । नेपालका विविध भूगोल र संस्कृतिको ऐना झल्काउने यस्ता सामग्रीहरूले राष्ट्रिय एकता र सांस्कृतिक विविधताको बुझाइलाई अझ प्रगाढ बनाउँछन् ।

पाठ्यपुस्तकका पाटाहरू जब आँखाकै अगाडि तस्बिरका रूपमा जीवन्त हुन्छन्, तब सिकाई दीर्घकालीन र प्रभावकारी बन्छ ।
हाम्रा विद्यालय तथा क्याम्पस तहका पाठ्यक्रमहरूमा यिनै सम्पदाहरूका विषयमा पढाइ हुने गर्दछ । धेरैजसो विद्यार्थीहरूका लागि यी सम्पदाहरू केवल परीक्षा पास गर्नका लागि कण्ठ गरिने अमूर्त नाम मात्र बनिरहेका हुन्छन् । यस्तो अवस्थामा भइरहेको यो फोटो प्रदर्शनी विद्यार्थीहरूका लागि ज्ञानको भण्डार साबित भएको छ ।

गोरखा नगरपालिकाका प्रायः सबै माध्यमिक तहका विद्यालयका विद्यार्थीहरूले यसको उत्सुकतापूर्वक अवलोकन गरिरहेको दृश्यले के पुष्टि गर्छ भने बालबालिकाहरूमा आफ्नो इतिहास र संस्कृति सिक्ने तीव्र चाहना छ, मात्र उनीहरूलाई सही माध्यम र अवसरको खाँचो थियो, त्यो अहिले अहिले प्राप्त भएको छ । त्यसका लागि हनुमानढोका दरबार संग्रहालय धन्यवादको पात्र छ ।

प्रतिक्रिया दिनुहोस्