| शनिबार, जेष्ठ २२, २०८३

पालुङटार नगरपालिकामा अन्तरजातीय विवाह गर्ने जोडीहरु सम्मानित

पालुङटार नगरपालिकामा अन्तरजातीय विवाह गर्ने जोडीहरु सम्मानित भएका छन् । २१ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसर पारेर बिहीवार तीन जोडीलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

वडा नम्वर १ निवासी जेम्स कोइराला र गंगा लामा, वडा नम्वर ५ निवासी सुजन थापा क्षेत्री र रञ्जिता कुमाल, सोही वडाका बरदान श्रेष्ठ र सचिन गुरुङको जाडीलाई सम्मान गरिएको मेयर विवश चिन्तनले बताए । ‘अन्तरजातीय विवाह गरी सामाजिक रुपान्तरणको अभियानमा अमूल्य योगदान दिएकाले उनीहरुलाई सम्मान गरेका हौ,’ उनले भने । खादा ओडाएर कदर पत्रद्धारा उनीहरु सम्मानित भएको उनले जानकारी दिए ।

दिवसकै अवसरमा ‘जातीय भेदभावको व्यवहारिक उन्मूलनमा विद्यार्थीको भूमिका’ बिषयक वक्तृत्वकला प्रतियोगिता समेत भएको थियो । प्रतियोगितामा युनाईटेड बोर्डिङ स्कुलका प्रिन्स गिरी पहिलो, त्रिवेणी माविकी रोजिना गुरुङ दोस्रो, भवानी माविकी दिपशिखा बख्रेल तेस्रो र अन्नपूर्ण माविकी समिक्षा रम्तेलले सान्त्वना स्थान हासिल गरेका छन् । उनीहरुले नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा कुल २० जना विद्यार्थी सहभागी थिए । दिवसको अवसरमा प्रभातफेरी समेत गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्