
हावाहुरीले पालुङटारको लिची खेती सखाप,
प्रतीक्षा आले
‘लिची ब्लकका’ रुपमा चिनिने गोरखाको पालुङटार नगरपालिकाको लिची खेती हावाहुरी र असिनापानीले सखाप पारेको छ । अत्याधिक वर्षा र हावाहुरीले लिची खेती सखाप पारेको पालुङटार नगरपालिका ७ च्याङलीका लिची व्यवसायी कमल गुरुङले बताए ।
गुरुङले १४ रोपनी क्षेत्रफलमा लगाएको करिब ८० बोट लिची पूर्ण रुपमा नष्ट भएको हो । ‘अलि अलि आफू खानका लागि बचेको छ । आफ्नो मात्र हैन, सबैको हालत एउटै हो’, उनले भने । उनको प्रमुख आम्दानीको स्रोत नै लिची खेती हो । गतवर्ष लिचीबाट चारलाख रुपैँया आम्दानी गरेको उनी बताउँछन् । ‘तर यो बर्ष एक पैसा हात नपर्ने भो’, उनले भने ।
लिचीको फुल फूल्ने सिजनमा अत्याधिक असिनापानी र हावाहुरी आएपछि गुरुङ लगायत पालुङटारको च्याङली, गाईखुर लगायतका क्षेत्रको लिची खेती नष्ट भएको हो । ‘चैतमा फुल फुल्ने बेला असिनापानी र हावाहुरीले सबै सखाप पार्यो । गत वर्ष यतिबेला लिची बेच्न भ्याइनभ्याई थियो । अहिले त सुनसान छ’, उनले भने, ‘लिचीको फुल खेल्न दिएन । अर्को बर्ष हु्न्थ्यो होला, ठिकै थियो तर, हावाहुरीले कतिपयको लिचीको बोट भाँचेर ध्वस्त पारेको छ ।’ १२ वर्षदेखि निरन्तर रुपमा लिची बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका पालुङटारका लिची व्यवसायीहरु यसवर्ष भने मर्कामा परेका हुन् ।
हावाहुरी र अत्याधिक वर्षाका कारण पालुङटारमा ९० प्रतिशतले लिचीको उत्पादन घटेको पालिकाको कृषि शाखाका संकल्प न्यौपानेले बताए । यस्तै, ३० प्रतिशत लिचीको बोटहरुमा पूर्ण रुपमा क्षती पुगेको उनले जानकारी दिए । जसका कारण किसानहरुले करिब ५ करोड रुपैँयाको घाटा बेहोर्नु परेको न्यौपानेले बताएका छन् । पालिकाको वडा नं ६, ७ र ८ मा अत्याधिक मात्रामा लिची उत्पादन हुने गरेको छ । यस्तै, वडा नं ४ र ५ मा पनि लिची खेती बिस्तार गरीएको पालिकाले जनाएको छ । गत वर्ष मात्र पालिकाको १५९ हेक्टर क्षेत्रफलमा एक हजार ७१६ मेट्रिक टन लिची उत्पादन भएको थियो ।
यो वर्ष लिचीको फुल फूल्ने सिजनमा अत्याधिक वर्ष र हावाहुरी आएका कारण लिचीको उत्पादन पूर्ण रुपमा घटेको पालिकाको कृषि शाखाका संकल्प न्यौपाने बताउँछन् । उनका अनुसार पालिकाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ६ सय किसान लिची खेतीमा आवद्ध छन् । यस्तै, करिब ९०० रोपनी क्षेत्रफलमा लिची खेती संचालन गरेको उनको भनाई छ । नगरपालिकाले कृषि ज्ञान केन्द्र गोरखासँग समन्वय गरेर लिची कृषकहरुलाई केही राहत उपलब्ध गराउने पालिकाले जनाएको छ ।




