
एउटै सिजनमा लाप्राकका १३ जनाद्वारा सगरमाथा आरोहण, गोरखाका २७ जनाले चढे सगरमाथा
आरोहीको गाउँ भनेर चिनिने लाप्राकका १७ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । यो सिजनमा मात्रै लाप्राकबाट धार्चे गाउँपालिका ४ लाप्राकका १३ जना ले सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोही पुरबहादुर गुरुङ (युक्त) ले जानकारी दिए ।
लाप्राकका पुरबहादुर गुरुङ (युक्त) ले यो बर्ष १० औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । त्यस्तै सुमन गुरुङले यो बर्षसहित आठ पटक आरोहण गरेका छन् । इमान गुरुङले यो बर्षसहित सात पटक, रामबहादुर गुरुङले यो बर्षसहित चार पटक, सन्दीप गुरुङले तीन पटक, सुजल गुरुङले तीन पटक र बिसबहादुर गुरुङले तीन पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।
त्यसैगरी लाप्राकका डम्बर गुरुङ र पूर्णबहादुर गुरुङले यो बर्ष दोस्रो पटक सगरमाथाको आरोहण गरेका छन् । त्यस्तै उत्तम गुरुङ (धने), आशबहादुर गुरुङ (क), आशबहादुर गुरुङ (ख) र सुजन गुरुङले यो बर्ष पहिलो पटक सगरमाथा आरोहण गरेका छन् ।
यसअघि लाप्राकका इमानसिङ गुरुङ, मुलाल गुरुङ, तुल्सिङ गुरुङ र वुद्धबहादुर गुरुङले सगरमाथा आरोहण गरेका छन् ।
खुम्बुक्षेत्रपछि धेरै आरोही भएका गाउँहरुमध्य गोरखाको लाप्राक पर्दछ । यहाँ सगरमाथा र ८ हजार मिटरभन्दा अग्ला अरु हिमाल आरोहण गर्नेहरु पनि धेरै छन् ।
गोरखाबाट सगरमाथा आरोहण गर्ने आरोहीहरुको संख्या अहिले २७ पुगेको छ । सबैभन्दा छोटो समय १४ घण्टामा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने चुमनुब्री ७ छेकम्पारकी कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामा, १३ दिनमै तीन पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने आरुघाट ९ आरुटारकी पूर्णिमा श्रेष्ठ, चुमनुब्री १ का आरोहीहरु नाङ्साल छोदेन लामा, डिकी ल्हामुले पनि सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।
त्यस्तै बारपाक सुलिकोट ३ स्वाँराका अनुप गुरुङ, आरुघाट ३ थुमीका यानबहादुर थापा, उहियाका ओमबहादुर गुरुङ, सिङ्लाका बिसबहादुर गुरुङ र गुम्दाका नानुमाया गुरुङ र मनुमान गुरुङले पनि सगरमाथा आरोहण गरिसकेका छन् ।
आफ्ना गाउँका युवाहरु हिमाल आरोहणमा सरिक भएकोमा नेपालका प्रथम पर्वतारोहण पथप्रदर्शक सुनार गुरुङले खुशी व्यक्त गरेका छन् । यसले लाप्राकलाई आरोहीको गाउँ भनेर प्रसिद्ध बनाएको उनको भनाइ छ ।
‘सगरमाथा होस् वा अरु हिमाल आरोहणमा लाग्नु धेरै राम्रो कुरा हो’, उनी भन्छन्, ‘हिमाल आरोहण भनेको नाम पनि कमाइने, टूेकिङ क्षेत्रमा भन्दा यस क्षेत्रमा आम्दानी पनि राम्रो हुने क्षेत्र हो । यसलाई व्यवसायिक रुपमा अपनाउन सके धेरै राम्रो हुन्छ ।’ लाप्राकबाट दुईसय भन्दा धेरै युवाहरु हिमाल आरोहण, पर्वतारोहण पथप्रदर्शक, ट्रेकिङ गाइड लगायतका काम गरेर पर्यटन क्षेत्रमा लागेको उनको भनाइ छ ।




