| बिहिबार, जेष्ठ २०, २०८३

धार्चे गाउँपालिकालाई पूर्णखोप दीगोपना सुनिश्चितता घोषणा

धार्चे गाउँपालिकालाई पूर्ण खोप दीगोपना सुनिश्चितता घोषणा गरिएको छ । मंगलबार गाउँपालिकामा एक समारोह बीच पालिकाभर खोप बाट बञ्चित बालबालिका कोही पनि नभएको भनी प्रमाणिकरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष एवं धार्चे गाउँपालिका खोप समन्वय समितिका संयोजक लक्ष्मण गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गोरखा जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख मोहन थापाले पूर्ण खोप दीगोपना घोषणा गरेका हुन् ।

गाउँपालिकाको सातै वडाका पाँच बर्ष मुनिका १०१ जना बालबालिका का लागि नेपाल सरकारले दिने सबै प्रकारका खोप पाएको भन्ने विभिन्न सूचकद्वारा प्रमाणित भएपछि सो घोषणा गरिएको पालिकाका स्वास्थ्य संयोजक अमृत घलेले जानकारी दिए । पूर्ण खोप दीगोपना सुनिश्चितता घोषणाका लागि स्वास्थ्य शाखाले गत माघ महिनादेखि चैत महिना सम्म कुनै बालबालिका छुटे, नछुटेको खोजतलास गर्ने गर्छन । सबैले लगाएको तथ्यांक संकलन, तथ्यांक विश्लेषण गरिसकेपछि सुनिश्चितता घोषणा गरिन्छ ।

‘हामीले सबै बालबालिकाले खोप लगाए नलगाएको स्थलगत सर्वेक्षण, अध्ययन, विश्लेषण गर्छौँ । हाम्रो तथ्यांकलाई रुजु गरेर जिल्लाले पनि प्रमाणिकरण गरेपछि बल्ल घोषणा गर्ने गर्छौँ’, घलेले भने, ‘खोप अभियान त रोकिने, सम्पन्न हुने भन्ने हुदैन । यो चलिरहने प्रक्रिया हो । त्यसैले दीगोपना सुनिश्चितता घोषणा गर्छौँ ।’ घोषणा सभामा पूर्ण खोप सुनिश्चितता र दीगोपनाका लागि अमूल्य योगदान दिने स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई गाउँपालिका ले सम्मान गरेको छ ।

‘पूर्ण खोप बनाउनका लागि खोप ढुवानीकर्ता सात वडाबाट उत्कृष्ट सात जना, सातै वडाका उत्कृष्ट सातजना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सातै वडाका उत्कृष्ट सातजना खोप कार्यकर्ताहरुलाई सम्मान पनि गरिएको छ ।’
सो कार्यक्रममा स्वास्थ्य संयोजक अमृत घलेले गाउ्रँपालिकाभित्रको खोपको अवस्था बारे प्रतिवेदन पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्