
दुर्गम भेगका बासिन्दालाई सडक, पुल लगायतका पूर्वाधार सुविधा देऊ
उत्तरी गोरखाको चमनबी गाउँपालिका यातायात सेवाबाट वञ्चित छ । जिल्लाका १० वटै पालिका सडक सञ्जालमा जोडिए पनि चमनब्री सडक सञ्जालबाट टाढा रहेको छ । धार्चेको छेवैमा अवस्थित चमनब्रीको केन्द्र सिर्दिबाससम्म बल्लतल्ल कच्ची सडक पुगेको छ, तर त्यहाँभन्दा माथि सडक पुग्न सकेको छैन । यहाँका सातैवटा वडाका बासिन्दा एक ठाउँबाट अर्को ठाउँमा पुग्न यहाँ
पैदल हिँड्नु पर्ने बाध्यता अझै हटेको छैन ।
नेपाल सरकार, प्रदेश सर कार तथा स्थानीय सरकारले बर्सेनि विभिन्न विकासका आयोजनाहरुमा बजेट विनियोजन गर्छ, तर यहाँका बासिन्दा गाउँमा मोटरबाटो नपुग्दा एकठाउँबाट अर्को ठाउँमा पुग्न घण्टौंसम्म पैदल यात्रा गर्न बाध्य छन् । यति मात्र यहाँको समस्या होइन । पैदल हिँड्न पनि हिमाली भेगमा सुरक्षित पदमार्ग छैन । बूढीगण्डकी लगायतका ठूला नदी खोलाहरु तर्न सुरक्षित पुल पुलेसा छैनन् । चमनब्री १ साम्दो र क्योङमा जोड्ने गरी झोलुङ्गे पल निर्माण गर्न विगत २०७५/२०७६ मा ठेक्का सम्झौता भयो, तर अहिलेसम्म पनि पुल बनेको छैन ।
यहाँ २२० मिटर लामो पुल दुई करोड रुपैयाँ लागतमा निर्माण गर्न हरिहर शर्मिला जेभी कम्पनीले ठेक्का सम्झौता गरेको आठ बर्ष बित्यो, स्थानीयबासी पुल बन्ने आशामा बसे, तर पुल बनेन । भोटखोलाका बासिन्दा लामो समयदेखि पुल बन्ने आशामा बसेका
छन् । तर अहिलेसम्म कामको प्रगति शून्य प्रतिशत छ । उनीहरु बूढीगण्डकी तर्न काठको फड्केको प्रयोग गर्न बाध्य छन् । अहिलेको २१ सताव्दीमा पनि यहाँका बासिन्दा बूढीगण्डकीलगायतका नदी, खोला तर्न फड्केको प्रयोग गरिरहन दुखको विषय हो । तसर्थ दुर्गम भेगका बासिन्दालाई सुरक्षित पदमार्ग तथा पुललगायतका भौतिक पूर्वाधार निर्माण गरी आधारभूत सेवा दिन तीनै तहका सरकारले चासो देखाउन पर्छ ।




