
गोरखामा रास्वपाको सबै पालिकास्तरीय अधिवेशन सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको पालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्ममा जिल्लाका सबै पालिकाहरुमा ११ सदस्ययी कार्यसमिति गठन भैसकेको रास्वपा गोरखाका सभापति सुवर्ण रोकायाले बताए ।
चुुमनुब्री गाउँपालिकाको भेलाले भने धावा ग्याल्जेन लामाको संयोजकत्वमा तदर्थ समिति गठन गरेको उनले जानकारी दिए ।
जिल्ला सदरमुकाम समेत रहेको गोरखा नगरपालिकामा शिशुबाबु प्रधान (शिशिर) को संयोजकत्वमा नगर समिति गठन भएको छ । पालुङटार नगरपालिकामा आनन्दराज पाण्डेको संयोजकत्वमा समिति गठन भएको जिल्ला सभापति रोकायाले बताएका छन् ।
‘सहिदलखन गाउँपालिकामा पुष्पाखर लामिछाने र भिमसेनथापा गाउँपालिकामा रामचन्द्र पोखरेलको सभापतित्वमा पालिकास्तरीय समिति गठन भएको छ । उहाँहरु दुवैजना इन्जिनियर हुनुहुन्छ’, रोकायाले भने । गण्डकी गाउँपालिकाको संयोजकमा नबिन देवकोटा चयन भएका छन् । यस्तै, बारपाक सुलिकोटमा बुद्धिबहादुर गुरुङ, अजिरकोटमा जीवनाथ ढकाल, सिरानचोकमा खिलबहादुर गुरुङ र आरुघाट गाउँपालिकामा कृष्णबहादुर गुरुङ पालिका संयोजकमा चयन भएका छन् ।
उत्तरी गोरखाको धार्चे गाउँपालिकामा किसान गुरुङको संयोजकत्वमा कार्यसमिति गठन भएको रास्वपा गोरखाले जनाएको छ ।
सबै पालिकाको अधिवेशन सम्पन्न भइसकेकाले रास्वपा अब गोरखा जिल्ला अधिवेशन तयारीमा जुटेको छ । जिल्ला अधिवेशन यही जेठ २४ गते हुने पार्टीको भनाइ छ ।
रास्वपा केन्द्रिय कार्यालयले गोरखामा अधिवेशन सम्पन्न गराउनका लागि गोरखा क्षेत्र नं १ का सांसद सुधन गुरुङ, क्षेत्र नं २ का सांसद एवं पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी, पार्टीकी केन्द्रीय सदस्य एवं समानुपातिक सांसद एलिजा गुरुङ, सांसद शोभा खनाल तथा पार्टीको केन्द्रिय विभागको तर्फबाट ध्रुवप्रसाद दाहाल, कृष्ण थापा र संघीय नेतृत्व मञ्चको तर्फबाट हरिशरण आचार्यलाई खटाएको छ ।
असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय गरिसकेको रास्वपाले सबै संरचनाको अधिवेशनको मिति तोकेको छ । तदर्थ समिति गठन हुन नसकेका वडाको भेला जेठ २ गते गरिएको थियो । वैशाख २० गते अघि तदर्थ समिति बनेका वडाको अधिवेशन जेठ ३ गते गरिएको छ । अर्को चरणको वडा अधिवेशन जेठ १६ गतेका लागि तोकिएको छ ।




