
गाउँको स्वास्थ्य संस्था टिकाइराख्न सबैको योगदान जरुरी
गोरखाको एक ग्रामीण भेग बारपाक सुलिकोटको हुँडीखोलामा १५ शैयाको अस्पताल सञ्चालनमा आएको छ । हरेक गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन गर्ने भन्ने सरकारको अवधारणा अनुसार बार पाक सुलिकोट ४ को हुँडीखोलामा १५ शैयाको अस्पताल स्थापना भएको हो । अस्पतालको हालसालै मात्र उद्घाटन भएको छ ।
सहिद प्रेम ढकाल स्मृति अस्पताल नामाकरण गरिएको सो अस्पतालमा एक जना एमजिडीपी डाक्टरसहित दुई जना मेडिकल अफिसर, एक जना एनेस्थेसिया सहायक र २० जना नर्सिङ स्टाफ रहने छन् । सामान्य स्वास्थ्य उपचारदेखि आकस्मिक सेवासम्म अस्पतालबाट प्रदान हुनेछ । आवश्यक जनशक्तिका लागि पालिकाले निक साइमन्स इन्टिच्यूटसँग सम्झौता गरेको छ । सो संस्थाले एमजिडीपी डाक्टरसहित मेडिकल अफिसर, एनेस्थेसिया सहायक, ल्याव टेक्निसियन र एचए गरी कुल ६ जना चिकित्सक पाँच बर्षका लागि उपलब्ध गराउने सम्झौता भएको छ ।
उपकरण समेत खरिद भइसकेको छ । अस्पतालबाट स्थानीयले भिडियो एक्स रे, शल्यक्रिया, एक्स रे, बिरामी भर्ना, डेन्टल, आँखा र ल्याब लगायतका सेवा पाउनेछन् । आवश्यक १६ रोपनी जग्गामा अस्पतालको भवन निर्माण भएको छ । भवनमा कुल
५५ कोठा छन् । बहिरंग, अन्तरंग, आकस्मिक, प्रसूती, डेन्टल, आँखा, प्रयोगशाला, फार्मेसी लगायतका सेवाका लागि छुट्टछुट्टै कक्ष छन् ।
सदरमुकामबाट धेरै टाढा, भौगोलिक अवस्था पनि कठिन रहेको हुँडीखोलामा यति ठूलो अस्पताल, यति धेरै जनशक्तिसहित सञ्चालन हुनु धेरै सुखद समाचार हो । यसले गाउँका बासिन्दालाई आफूहरु स्वास्थ्य सुनिश्चितताप्रति ढुक्क हुने वातावरण सिर्जना गर्दछ । गुणस्तरीय शिक्षाका लागि, गुणस्तरीय स्वास्थ्य सेवाका लागि सहर पलायन हुने बाध्यतालाई पनि यसले घटाउने विश्वास लिन सकिन्छ । संस्था स्थापना हुनु आफैमा महत्वपूर्ण कुरा हो तर त्यसलाई निरन्तरता दिनु, वा टिकाइरहनु झन् ठूलो कुरा हो । त्यसैले यसलाई निरन्तरता दिन सबैले आ आफ्नो ठाउँबाट योगदान गर्नुपर्दछ ।




