
आठ वर्षदेखि पुल नबन्दा भोटखोलाका बासिन्दा काठेपुलकै भर
उत्तरी गोरखाको भोटखोलामा एक झोलुङ्गे पुल निर्माणको काम बिगत ८ बर्षदेखि अलपत्र छ । आर्थिक बर्ष २०७५/०७६ मा ठेक्का सम्झौता भएको चुमनुब्री १ क्योङ्मा र साम्दो जोड्ने पुल निर्माणको काम आठबर्षदेखि अलपत्र परेको हो ।
बूढीगण्डकीमाथि निर्माण हुनुपर्ने सो पुल नबन्दा गाउँलेहरु काठेपुलकै भर पर्नु परेको छ । ‘अहिलेसम्म पुलको जिपबाहेक केही काम भएको छैन’, पूर्व वडासदस्य मिङ्मा लामाले भने, ‘यो पुल नबन्दा मनास्लु क्षेत्र भ्रमण गर्ने, लार्केपास गर्ने विदेशी पर्यटक, सामागाउँ र साम्दोगाउँ आवतजावत गर्ने स्थानीय बासिन्दा र तिब्बत सीमाना रुइला जाने यात्रुहरू बूढीगण्डकीमाथिको फड्के तर्न बाध्य छन् ।’ सो पुल नबन्दा मनास्लु क्षेत्र भ्रमण गर्न आएका स्वदेशी, विदेशी पर्यटकहरु बूढीगण्डकी तर्न काठको फड्केकै भरमा पर्नु परेको उनको भनाइ छ ।
भोटखोलाका बासिन्दा लामो समयदेखि पुल बन्ने आशै आशमा बसेका लामाले गुनासो गरे । ‘दुवैतर्फ पुलको जीप बनाएर छोडेको पनि तीनचार बर्ष भइसक्यो । तर त्यसभन्दा अघि केही काम अघि बढेको छैन’, लामा भन्छन्, ‘यस्तो कमजोर पुलजीप बनाएको रहेछ कि, हातले कोट्याउँदा पनि फुर्रर्र फुर्रर्र ढलान उक्किएको छ ।’
क्योङ र साम्दो जोड्ने २२० मिटर लामो सो पुल डेढ वर्षभित्र सम्पन्न गर्ने गरी हरिहरि शर्मिला जेभी कम्पनीले योजना सम्झौता गरेको सस्पेन्सर ब्रिज डिभिजनका प्रमुख शंकर बुढाथोकीले जानकारी दिए । कम्पनीले दुई करोड रुपैयाँमा पुल निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो । ‘पटक–पटक म्याद थप्दै आएको रहेछ । अन्तिम पटक गत चैत मसान्तसम्म म्याद थपिएको थियो’, उनले भने, ‘तर चैतमा पनि कुनै प्रगति नभएपछि ठेक्का तोड्यौँ र कालोसूचीमा राख्ने प्रक्रिया सुरु गर्यौ ।
डिभिजनको कदमविरुद्ध निर्माण कम्पनी अदालत गयो । तर अदालतले उनीहरुलाई पराजित गराइदियो ।’ अब डिभिजनले काम नगर्ने ठेकेदारलाई कालो सूचीमा राख्ने, उनीहरुबाट धरौटी जफत गर्ने, मोबिलाइजेशन रकम फिर्ता माग्ने र कानून अनुसार दण्ड जरिबाना असुल उपरको प्रक्रिया अघि बढाउने उनले बताए ।
सो पुल निर्माणका लागि आफूहरुले धेरै पहल गरेको तर ठेकेदार कम्पनीको लापार्बाहीका कारण केही सीप नलागेको वडाअध्यक्ष कर्मा छेवाङ लामाको भनाइ छ ।




