| सोमवार, जेष्ठ १७, २०८३

पालुङटारमा महिलाहरुलाई अटो चालक तालिम

जिल्लाको पालुङटार नगरपालिकाले महिलाहरुका लागि अटो चालक तालिम संचालनमा ल्याएको छ । महिला सशक्तिकरणको लागि महिला सञ्जालको मागमा आधारित सीप विकास कार्यक्रमअन्तरगत तालिम संचालन गरेको पालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताइन् ।

पालिकाको वडा नं ३, ४, ५ र ६ का महिलाहरुलाई लक्षित गरेर तालिम संचालन गरेको उनले जानकारी दिइन् । ‘यो २६ दिने आधारभुत तालिम हो, यसमा चार वडाका २६ जना महिला दिदीबहिनीहरु आबद्ध हुनुहुन्छ’, उनले भनिन् ।

पालुङटार नगरपालिकाले गत वर्ष पनि महिलाहरुका लागि ‘अटो चालक तालिम’ कार्यक्रम संचालन गरेको थियो । गत वर्षको तालिम प्रभावकारी बनेपछि यो वर्षपनि निरन्तरता दिएको उपप्रमुख पाण्डे बताउँछिन् । उनी भन्छिन्, ‘गत वर्ष परीक्षणका रुपमा वडा नं ७ का महिला दिदीबहिनीहरुलाई यो तालिम दिएका थियौँ । गत वर्ष तालिममा सहभागि अधिकांश दिदीबहिनीहरु अहिले अटो चलाएर राम्रो आम्दानी गर्ने हुनु भएको छ । त्यसैले, यो वर्ष पनि यो तालिमलाई निरन्तरता दिएका छौँ ।’ नगरपालिकाले अटो चालक तालिम लिएका महिलाहरुलाई अटोको लाइसेन्स निकाल्नका लागि पनि सहजिकरण गर्ने उनको भनाई छ ।

महिला सशक्तिकरणका लागि, महिलाहरुलाई रोजगारीसँग जोड्न र उनीहरुलाई आत्मनिर्भर बनाउने मूख्य उद्देश्यसहित पालिकाले ‘महिला सशक्तिकरणको लागि महिला सञ्जालको मागमा आधारित सीप विकास कार्यक्रम’ संचालन गरेको पालिकाको भनाई छ । कार्यक्रमअन्तरगत महिला दिदीबहिनीहरुको मागमा आधारित रहेर पालिकाले अटो चालक तालिम, पञ्चेबाजा तालिम तथा गारमेन्ट सम्बन्धी तालिम लगायतका तालिमहरु संचालन गरेको नगरपालिकाको उपप्रमुख बन्दना पाण्डेले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्