| शुक्रबार, जेष्ठ १४, २०८३

गाउँलेलाई आफ्नै ठाउँमा टिकाउन भीमसेनथापाका चोक, चौताराहरुमा फ्रि वाईफाई

सेवा र सुविधाका लागि भन्दै युवाहरु सहर तथा विदेश पलायन हुने क्रम रोक्ने उद्देश्यले भीमसेनथापा गाउँपालिकाले चोक, चौतारा तथा सार्वजनिक स्थलहरु फ्रि वाइफाई सेवा सञ्चालन गर्ने भएको छ । समयको मागअनुसारको गाउँबस्तीका बासिन्दालाई इन्टरनेट सेवा निशुल्क रुपमा प्रदान गरी गाउँमै रम्ने बनाउन गाउँपालिकाले मान्छेहरुको जमघट हुने प्रमुख ठाउँहरुलाई फ्रि वाइफाई जोन बनाउने प्रक्रिया सुरु गरेको हो ।

टोल विकास संस्थाहरुले सिफारिस गरेका ठाउँहरुमा निशुल्क इन्टरनेट सेवा सुरु गर्न लागेको गाउँपालिकाका प्रमुख लोकप्रसाद बञ्जराले बताए ।

‘गाउँका बासिन्दाहरु सँधै भेला भइरहने धार्मिक, सांस्कृतिक तथा पर्यटकीय ठाउँहरुमा फ्रि वाईफाई सेवा सञ्चालन गरेर गाउँलेहरुलाई सेवा दिन लागेका छौँ’, अध्यक्ष बञ्जराले भने, ‘यसबर्षदेखि टोल विकास संस्थाको माग अनुसार प्रविधि जडानको काम हुनेछ । आवश्यक पर्ने ठाउँहरुमा प्रविधि जडान गर्न टोलविकास संस्थाहरुसंग गाउँपालिकाले निवेदन माग गरिसकेको छ ।’ माग र औचित्यताको अध्ययन गरेर पालिकाले ठाउँहरुको छनौट गर्ने उनले बताए ।

पहिलो बर्ष गाउँपालिकाले प्रविधि जडान गरेर सेवा सुरु गरेपछि दोस्रोबर्षदेखि टोल विकास संस्थाले नै त्यसलाई निरन्तरता दिनुपर्ने पालिका प्रमुख बञ्जराको भनाइ छ । ‘आर्थिक बर्ष २०८२/०८३ को स्वीकृत बजेट अनुसार प्रमुख धार्मिक क्षेत्र, पर्यटकीय क्षेत्र, पार्क तथा बजार क्षेत्रमा फ्रि वाईफाई जोन कार्यक्रम कार्यान्वयनका लागि आवश्यक टोल विकास संस्थाहरुबाट निवेदन माग गरेका छौँ’, उनले भने, ‘फ्रि वाईफाई जोन स्थापनाका सम्पूर्ण जिम्मेवारी हाल गाउँपालिकाले ब्यहोर्ने छ । दोस्रो बर्षदेखि त्यसलाई निरन्तरता दिने सम्पूर्ण दायित्व टोल विकास संस्थाहरुले नै लिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्