| बिहिबार, जेष्ठ १३, २०८३

बारपाकमा लोकताबाट नेपाली कागज बनाउने १० दिने तालिम सम्पन्न

‘स्थानीय स्रोत साधनको सदुपयोग गरौं, सीप सिकौं, रोजगार बनौं’ भन्ने मूल नाराका साथ बारपाक सुलिकोट वडा नं. १, बारपाकमा सञ्चालित लोकताबाट नेपाली कागज प्रशोधन सम्बन्धी १० दिने प्राविधिक सीप विकास तालिम बुधबार सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय गोरखाको आयोजना तथा गाउँपालिका कार्यालयको समन्वयमा जेठ ३ गतेदेखि तालिम सुरु भएको थियो । डिभिजनल वन अधिकृत मदन मोहन शाण्डिल्यको अध्यक्षता तथा बारपाक सुलिकोट गाउँपालिकाकी उपाध्यक्ष सन माया गुरुङ प्रमुख आतिथ्यतामा समापन कार्यक्रम आयोजना भएको थियो ।

स्थानीय स्रोतको प्रवद्र्धन र डिभिजन वन कार्यालयको भूमिकाका विषयमा कार्यक्रममा बोल्दै डिभिजनल वन अधिकृत शाण्डिल्यले वन क्षेत्रमा आधारित गैर–काष्ठ वन पैदावारको दिगो व्यवस्थापन र सदुपयोगबाट मात्रै ग्रामीण अर्थतन्त्र बलियो हुने कुरामा जोड दिएका थिए ।

डिभिजन वन कार्यालयले स्थानीय समुदायलाई वन पैदावारमा आधारित उद्यमहरूसँग जोड्न आगामी दिनमा पनि यस्ता प्राविधिक तथा आर्थिक सहयोगका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता उनले ब्यक्त गरेका थिए । लोकता जस्ता बहुमूल्य वनस्पतिलाई परम्परागत प्रविधिबाट आधुनिक र व्यावसायिक प्रशोधनतर्फ लैजाँदा वनको संरक्षण हुने र युवा तथा महिलाहरूका लागि स्थानीय स्तरमै मर्यादित हरित रोजगारी सिर्जना हुने उनको भनाइ थियो ।

प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले गाउँ पालिकाभित्र पाइने प्राकृतिक स्रोत साधनको पहिचान र त्यसको व्यावसायिक उपयोगका लागि डिभिजन वन कार्यालयले पु¥याएको सहयोगप्रति आभार व्यक्त गर्दै उत्पादित नेपाली कागज र यसबाट बन्ने सामग्रीहरूको बजारीकरणका लागि स्थानीय सरकारले आवश्यक समन्वय र सहयोग गर्ने आश्वासन दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्