
सहिदलखनको शिक्षक, विद्यार्थीसम्मानले प्रोत्साहन जगाउने आशा
शिक्षा क्षेत्रको सुधार केवल नारामा मात्र सीमित हुन सक्दैन, यसका लागि स्थलगत रूपमै सरोकारवालाहरूलाई उत्प्रेरित गर्नुपर्छ
भन्ने उदाहरण सहिद लखन गाउँपालिकाले प्रस्तुत गरेको छ । हालै गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा(एसईई) र आधार
भूत तह परीक्षा(बिएलई) मा ३.६ भन्दा बढी जिपिए ल्याउने विद्यार्थी र कक्षाकोठामा उत्कृष्ट नतिजा दिलाउन सफल
शिक्षकहरूलाई सम्मान गरेको छ ।
स्थानीय सरकारको यो कदम अत्यन्तै सराहनीय र दूरगामी महत्व बोकेको छ । कुनै पनि शैक्षिक संस्था वा क्षेत्रको सफलताको जग त्यहाँका विद्यार्थीको मिहिनेत र शिक्षकको समर्पणमा अडिएको हुन्छ । विद्यार्थीहरू राष्टूका भविष्य हुन् भने शिक्षकहरू त्यो
भविष्यलाई आकार दिने शिल्पकार हुन् । जब यी दुवै पक्षको साझा प्रयत्नलाई राज्य वा स्थानीय निकायले पहिचान गरी
उचित कदर गर्छ, तब समाजमा सकारात्मक ऊर्जाको सञ्चार हुन्छ ।
सानो भए पनि यो पालिकाको सम्बोधनले आगामि दिनमा अन्य विद्यार्थी तथा शिक्षकहरूमा पनि मैले पनि राम्रो गर्नुपर्छ भन्ने
स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउँछ । प्रायः नतिजा बिग्रिँदा शिक्षकलाई मात्र दोष दिने तर नतिजा राम्रो हुँदा बेवास्ता गर्ने
प्रवृत्ति समाजमा देखिन्छ । तर सहिद लखन गाउँपालिकाले उच्च सिकाइ उपलब्धि दिलाउने शिक्षकहरूलाई सम्मान गर्दा उनीहरूको पेसागत मर्यादा र आत्मबल निकै चुलिएको हुनुपर्छ ।
यस्ता कार्यक्रमले शिक्षक र विद्यार्थीहरूलाई अझै अहोरात्र खट्न ऊर्जा प्रदान गर्नेछ । सम्मान केवल एउटा प्रमाणपत्र वा पुरस्कार मात्र होइन, यो त आगामी दिनमा थप जिम्मेवार र उत्कृष्ट बन्ने एउटा बलियो जग हो । उत्कृष्टहरूलाई सम्मान गरिरहँदा औसत वा कमजोर नतिजा आएका विद्यालय र विद्यार्थीहरूलाई कसरी माथि उठाउने भन्नेतर्फ पनि गाउँपालिकाले आगामी रणनीति बनाउनु जरुरी छ ।




