| मङ्लबार, जेष्ठ ११, २०८३

सरकारी सम्पति दुरुपयोग, वडा कार्यालयको मोटरसाइकल सिक्दै वडा सचिव


पालुङ्टार नगरपालिका वडा नं. ९ का वडासचिव वसन्तकुमार रानाले वडा कार्यालयको नाममा रहेको मोटरसाइकल दिनहूँ सिक्ने गरेका छन् । कार्यालयको नाममा रहेको सेतो प्लेटको ग १ ब ४१८ नंबरको मोटरसाइकल वडा सचिव रानाले बिगत एक महिनादेखि दिनहूँ सिक्ने गरेको स्थानीयले जानकारी दिएका छन् ।

सवारी साधन नियमित चलिरहने बिर्दी–सेरा सडकमा लापार्बाहीपूर्वक मोटरसाइकल सिकेर अरु सवारी चालकलाई समेत जोखिम बढाएको स्थानीयको गुनासो छ । ‘वडा कार्यालयको नाममा रहेको सेतो प्लेटको होन्डा बाइक सँधै सिक्नुहुन्छ’, एक स्थानीयले टेलिफोनमा भने, ‘वडा कार्यालयभन्दा अगाडिको कच्ची रोडमा र वडा कार्यालय भन्दा पूर्वपट्टि रहेको चौरमा ट्रायल दिने ठाउँमा झैँ गोलो घेरा र अंग्रेजीको आठ आकारको घेरा लगाएर सिक्नुहुन्छ ।

सिक्दा सिक्दै बाइक थोत्रो भइसकेको छ ।’ सरकारी सवारी साधनको दुरुपयोग नगर्न स्थानीयले गरेको आग्रहको बेवास्ता गरी स्थानीयसंग झगडा गरेर पनि सिक्ने गरेको उनी बताउँछन् ।

सरकारी सवारी साधनको सँधै दुरुपयोग गरेको आरोप लागे पनि उनी भने कहिलेकहीँ मात्र बाइक सिक्ने गरेको दाबी गर्छन् । ‘सँधै होइन, कहिलेकहीँ मात्र सिकेको हो’, उनले भने, ‘टाढा गएको छैन । यहीँ वरिपरि हो ।’

स्थानीयको गुनासो बारे आफूले सत्यतथ्य अध्ययन गर्ने गाउँपालिकाकी उपप्रमुख बन्दना पाण्डे बताउँछिन् ।
प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले सरकारी सम्पति दुरुपयोग हुन नहुने भन्दै सचेत गराउने बताए । ‘उहाँले त्यसो गर्नुभएको रहेछ भने त्यो गलत हो । हामी सचेत गराउँछौं’, उनले भने, ‘सरकारी सम्पति दुरुपयोग गर्नेलाई कानूनले के कारबाही गर्न भनेको रहेछ हामी गर्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस्