
लाप्राकका युक्त गुरुङद्वारा १० औं पटक सगरमाथा आरोहण
दुर्गम गाउँ लाप्राकका पुरबहादुर गुरुङ(युक्त) दसौं पटक सगरमाथा आरोहण गर्न सफल भएका छन् । धार्चे गाउँपालिका ४ लाप्राकका पुरबहादुर गुरुङ(युक्त) ले पछिल्लो पटक मे २० मा सगरमाथाको शिखरमा पाइला टेकेका हुन् ।
१० पटकसम्म सगरमाथा आरोहण गरेपछि उनी शेर्पा समुदायबाहेक सबैभन्दा धेरै पटक सगरमाथाको शिखरमा पुग्ने आरोही बन्न सफल भएका छन् ।
अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक युक्त गुरुङले अघिल्लो बर्षको मे १९ देखि यो बर्षको मे २० सम्म तीनपटकसम्म सगरमाथा आरोहण गरेका छन् । २०२५ को मे १९, अक्टुबर १५ र २०२६ को मे २० मा उनले सगरमाथाको सफल आरोहण गरेका हुन् ।
गुरुङ गण्डकी अल्पाइन क्लवका कोषाध्यक्षसमेत हुन् । उनले सन् १०११ देखि सगरमाथाको सफल आरोहण गर्न सुरु गरेका हुन् । त्यसयता उनले सन् २०१७ मा, २०१८ मा, २०१९ मा २०२२ मा दुईफेर, २०२४ मा पनि सफल आरोहण गरिसकेका छन् ।
यो बर्ष उनले एकै सिजनमा आठहजार मिटरभन्दा अग्ला तीन हिमाल आरोहण गरेका छन् । अप्रिल १८ मा अन्नपूर्ण १, मे २० मा सगरमाथा र मे २१ मा ल्होत्सेको सफल आरोहण गरेका हुन् ।




