
धेरै पालिकाको बेरुजु घट्नु सुखद
गोरखाका अधिकांश पालिकाहरुले बेरुजु घटाइरहेका छन् । केही पालिकाहरुको बिगतका बर्षहरुमा हेर्दा यो बर्ष धेरै नै बेरुजु घटेको पाइएको हो ।
अघिल्लो बर्ष ०.९४ प्रतिशत बेरुजु रहेको गोरखा नगरपालिकाको अहिले ०.६२ प्रतिशत मात्र छ । अघिल्लो बर्ष त्यस्तै २.५८ प्रतिशत बेरुजु रहेको बारपाक सुलिकोटले घटाएर जम्मा ०.३९ प्रतिशत बनाएको छ । १.२५ प्रतिशत बेरुजुबाट घटाएर सहिद लखनले पनि अहिले जम्मा ०.४३ प्रतिशत बनाएको छ । त्यस्तै १.६८ प्रतिशत बेरुजुबाट घटाएर गण्डकीले पनि जम्मा ०.९१ प्रतिशतमा झारेको छ ।
भीमसेन थापाले पनि बेरुजुलाई धेरै सुधार गरेको छ । अघिल्लो बर्ष १.७६ प्रतिशत बेरुजु रहेको यहाँ अहिले जम्मा ०.४३ प्रतिशत बेरुजु रहेको पाइयो । आरुघाटले पनि केही सुधार गरेको छ । अघिल्लो बर्ष ०.९१ प्रतिशत रहेकामा अहिले घटेर जम्मा ०.६४ प्रतिशत भएको छ ।
बाँकी पालुङ्टार, सिरानचोक, अजिरकोट, धार्चे र चुमनुब्रीको भने सुधार हुन बाँकी नै छ । ती पालिकाहरुको बेरुजु दर भने केही बढेकै पाइएको छ । पालुङटार नगरपालिकाको अघिल्लो बर्ष २.५७ प्रतिशत बेरुजु रहेकामा अहिले बढेर २.९४ प्रतिशत रहेको छ । सिरानचोकको अघिल्लो बर्ष १.४४ प्रतिशत बेरुजु रहेकामा यसबर्ष बढेर २.३६ प्रतिशत बेरुजु भएको छ । अघिल्लो बर्ष अजिरकोट गाउँपालिकाको बेरुजु १.०९ प्रतिशत रहेकामा यो बर्ष बढेर १.७८ प्रतिशत भएको छ ।
धार्चे गाउँपालिकाको बेरुजु अघिल्लो बर्ष ०.५५ प्रतिशत रहेकामा यो बर्ष बढेर ०.६ प्रतिशत रहेको छ । चुमनुब्रीको पनि केही बेरुजु दर बढेको छ । अघिल्लो बर्ष ०.०६ प्रतिशत बेरुजु रहेकामा यो बर्ष बढेर ०.४२ प्रतिशत भएको छ ।
स्थानीय तहको कार्य सम्पादन अभ्यास हुन थालेको झण्डै १० बर्ष पुग्न लागेकाले अब विस्तारै सुधार हुँदै जाने विश्वास लिन सकिन्छ ।




