
ठाँटीपोखरी बजारका डाल्डा घ्यू नष्ट, कमसल खाद्य पदार्थ उपभोग नगर्न आग्रह
पालुङटार नगरपालिकाको सदरमुकाम ठाँटीपोखरी बजारमा वनस्पति घ्यू (डाल्डा) नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौलीले ठाँटीपोखरी बजारबाट ३३ हजार रुपैँया बराबरको डाल्डा घ्यू नष्ट गरेको कार्यालयका प्रमुख ज्योति आचार्यले बताए ।
खाद्य प्रविधि कार्यालय, पालुङटार नगरपालिका तथा ईलाका प्रहरी कार्यालय ठाँटीपोखराको संयुक्त अनुगमन टोलीले उक्त डाल्डा घ्यू नष्ट गरेको उनले जानकारी दिए । उक्त डाल्डा घ्यूहरु जफत गरेर नष्ट गरेको आचार्यले बताएका छन् ।
पालुङटार नगरपालिकाले गत असोजमै वनस्पति घ्यू÷बेकरी सर्टेनिङ्ग (डाल्डा) बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो । यद्यपि व्यापारीहरुले डाल्डा घ्यू बिक्री वितरण गरेको पाएपछि नष्ट गरेको खाद्य प्रविधि कार्यालयले जनाएको छ ।
व्यापारीहरुले ग्राहकहरुलाई झुक्यानमा पार्ने डाल्डा घ्यू बिक्री वितरण गरेको र विभिन्न बेकरी सामाग्रीमा पनि स्वास्थ्यमा गम्भीर असर पुर्याउने डाल्डा घ्यू प्रयोग गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौलीका प्रमुख ज्योति आचार्यले बताउनुभएको छ ।
‘अनुगमनका क्रममा व्यापारीहरुले १४० रुपैँया पर्ने आधा केजीको डाल्डा दोब्बर बढी फाइदा आएर रु ४५० सम्ममा बेचेको पायौँ’, आचार्यले भने, ‘उपभोक्तालाई सस्तो घ्यू भनि खरीद गर्न जोड गर्ने यस्ता अनुचित व्यापारिक क्रियाकलाप भएकोले यसबारे जिल्लामा कुरा गरेर नियन्त्रण गर्न अनुरोध गर्ने निर्णय भएको छ ।’




